जनता टाइम्स

१३ असार २०७८, आईतवार १०:५४

देउवा प्रचण्ड मुलुक बर्वाद पार्ने अभियानमा लागेको कमल थापाको ठोकुवा


काठमाडौं, १३ असार । राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाइने नजिर सर्वोच्च अदालतबाट कायम भएमा भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन र अस्थिरताले वैधानिकता पाउने जिकिर गर्नुभएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको रिट निवेदकले धारा ७६(५)मा सांसदलाई दलीय ह्वीप नलाग्ने दावी गरिरहेका बेला थापाले संविधानको आशयमाथि समेत प्रश्न उठाउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम छ । त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ । के संविधानको आशय त्यही हो ?’ अध्यक्ष थापाले हालको अस्थिरता र संकट समाधानको संवैधानिक बाटो चुनाव नै हो भन्दै प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले विदेशीलाई कम्फरटेबल सरकार बनाइ भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजिरहेको आरोप लगाउनुभएको छ ।