काठमाडौं, असार १३
युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आज राति दुई खेलहरु हुन लागेको हो । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्नेछन् । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।
नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
चेक रिपब्लिकले भने समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थन बनाएको हो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो ।
स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो । बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो ।
दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २–१ ले हराएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले हराएको थियो । पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो । साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।
समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३(० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ । पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ ।













प्रतिक्रिया दिनुहोस्