जनता टाइम्स

१५ असार २०७८, मंगलवार १८:१९

बेरोजगार सूचीमा रहेका २३७ लाई धुलिखेल नगरको रोजगार


काभ्रेपलाञ्चोक, असार १५

धुलिखेल नगरपालिकाले बेरोजगार सूचीमा रहेका २३७ लाई रोजगार पाएका छन् । पालिकाका विभिन्न वडामा सुचिकृत भएका ५२५ मध्ये २३७ जना स्थानीयले रोजगार पाएका हुन् । सुचिकृत भएका मध्ये केहिले भने वडाका योजनाहरुमा धमाधम कार्य गरिरहेका छन् । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत धुलिखेलका लागि ९० लाख रकम विनियोजन गरेको छ । विनियोजन गरेको रकममध्ये चालु वर्षको अन्त्त्यसम्ममा ३० लाख भन्दा धेरै खर्च हुने कार्यक्रम संयोजक सम्झना शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘धुलिखेल नगरपालिकाको वडा ४, ५, ९ र १२ मा विभिन्न योजनामा २३७ जनाले श्रम गरिरहनुभएको छ । उहाँहरुलाई छोटो अवधिको रोजगार दिने उद्देश्यले शुरु गरिएको कार्यक्रम प्रभावकारी भएको छ । अहिले गरिरहेको कामको अनुगमन नगर प्रमुख, उपप्रमुख एवं वडा अध्यक्ष र प्राविधिकहरुले गरिरहनु भएको छ ।’

वडा नम्वर ९ मा सिँढी निर्माण भईरहेको छ भने ४ र ५ मा सडक निर्माणसँगै ढुंङ्गा विछ्याउने कार्य भईरहेको छ । त्यस्तै ११ नम्बर वडामा सिँढी निर्माणको कार्य भईरहेको छ र १२ मा बाटोको नाली खन्ने र सरसफाई गर्ने कार्य भईरहेको छ । केहि वडामा अहिले भईरहेको काममा उनीहरुलाई रोजगार दिने कार्य भईरहेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाले पनि बेरोजगारहरुलाई सिप तथा अन्य माध्यमबाट रोजगार बनाउने कार्य गरिरहेको छ । मेयर ब्याञ्जुले नगर भित्रका नागरिकहरुको आयस्रोत वृद्धि गर्न, कृषि तथा पशुपालनसँगै आत्मनिर्भर हुन, सिप तथा अनुदानमा ऋण र व्याजमा सहुलियत दिईरहेको जानकारी दिनुभयो । त्यस्तै पालिका भित्र झण्डै एक हजार नागरिकहरु सिप सिकेर आत्मनिर्भर उन्मुख भईरहेको पनि उहाँले सुनाउनुभयो ।

नगरपालिकाले ड्राईभिङ्ग, घरेलु उद्यमका सिपहरु, कृषि तथा पशुपालनका अन्य तालिमहरुमा आर्कषण गरिरहेको छ । प्रमुख ब्याञ्जुका अनुसार नगरपालिकाले सिप सिकेर विदेश जाने र विदेश गएर आई पुनः सिप सिकेर स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि आवश्यक तालिम प्रदान गरिरहेको छ । उहाँले बेरोजगारको सूचीमा नाम दर्ता गराएकामध्ये अधिकांशलाई विकास निर्माण तथा अन्य आयोजनामा समावेश गरी वर्षैभरी रोजगार दिने गरी योजना बनाईरहेको पनि बताउनुभयो ।