जनता टाइम्स

१६ असार २०७८, बुधबार १७:४४

अत्याधिक गर्मीका कारण क्यानडामा ६९ जनाको मृत्यु


काठमाडौं, असार १६

क्यानडामा अत्याधिक गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । ब्रिटिस कोलम्बियामा सोमबारदेखि अत्याधिक तापक्रमका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको बीबीसीले जनाएको छ । गर्मीको कारण अप्रत्यासित रुपमा मृत्यु हुनेहरुमा ज्येष्ठ नागरिकहरु रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।

मंगलबार लगातार तेस्रो दिन क्यानाडाको तापक्रम ४९.५ डिग्रि सेल्सियस थियो जुन यो हप्ताको उच्च तापक्रम थियो । यस हप्तामा यसअघि क्यानाडामा ४५ डिग्रि भन्दा माथि पुगेको थिएन । वातावरण विभागले सस्कचेवानसहित ब्रिटिस कोलम्बिया र अबर्टा तथा उत्तरपश्चिम क्षेत्र युकोनलाई जोखिम क्षेत्रमा राखेको छ ।

क्यानाडाका नागरिकहरु यसअघि यति धेरै गर्मीको भएको अनुभव कहिले नगरेको बताउँछन् । ‘हाम्रो देश विश्वकै चिसो र हिँउ पर्ने देशको सूचीमा दोस्रोमा पर्छौं वरिष्ठ जलवायु विद् डेभिड फिलिप्सले भन्नुभयो, यसअघि हामीले यस्तो गर्मीको कुरै गर्न परेको थिएन ।’ अत्याधिक गर्मी भएपछि पोर्टल्याण्डका बासिन्दा कोठाको चिसो भुइँमा सुत्न थालेका छन् ।

अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ। सन् १९४० यता तथ्याङ्क राख्न थाले यता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ। अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ।