जनता टाइम्स

१८ असार २०७८, शुक्रबार १५:२५

मनकारी निलिमा, जस्ले छोराको पढाई खर्च कटाएर गरिन गृहजिल्लाका बिपन्नलाई राहत बितरण


सिन्धुली, असार १८ । एमालेकी युवा नेतृ तथा समाजसेवी निलिमा गुरुङले गृहजिल्ला सिन्धुलीमा असहाय तथा बिपन्नलाई राहत र कोरानाबिरुद्ध फ्रन्टलाइनमा खटिएका संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कसैबाट चन्दा नउठाई आफ्नो ब्यक्तिगत प्रयाशमा गुरुङले गृहजिल्ला सिन्धुलीका बिभिन्न स्थानमा राहत तथा स्वास्थ्य सामाग्री बितरण गर्नुभएको हो ।

गुरुङले मंगलबार सुनकोसी गाउँपालिका–५ स्थित रामटारमा कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका परेवाडाँडाका एकल तथा जेष्ठ वयोवृद्ध १५ परिवारका सदस्यहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभयो । राहत सामग्रीमा खाद्यान्न दाल, चामल, चाउचाउ, अन्डा, नुन र तेल वितरण गरिएको थियो । त्यसलगत्तै गुरुङले स्वास्थ्य चौकी बन्दिपुर र सामुदायिक स्वास्थ्य केन्द्र लिटेभन्ज्याङगमा दिनेगरी नेपाल रेडक्रस सोसाइटी पुरानो झागाझोली उपशाखालाई २१ सय पिस मास्क, २ ग्यालिन स्यानिटाइजर हस्तान्तरण गर्नुभयो ।

समाजसेवी गुरुङसहितको टोलीबाट खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई समेत हजार/हजार थान मास्क र १÷१ ग्यालिन सेनिटाइजर उपलबध गराइएको छ । यस्तै कोभिड अस्पताल सिन्धुलीलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । राहत कार्यक्रमका संयोजक सरद प्याकुरेलका अनुसार समाजसेवी गुरुङले सानो छोरा आरोग्य देव गरुङको पढाई खर्च कटाएर मानव सेवामा लागि सहयोग गर्नुभएको हो ।

उहाँले गुरुङलाई उच्च सम्मान गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । ‘धन नभए पनि जिल्लाका बिपन्नको समस्याले पोल्यो, त्यही भएर छोराको पढाई खर्च कटाएर भए पनि सहयोग गर्ने निश्कर्षमा पुगें,’ राहत सामाग्री हस्तान्तरणपछि समाजसेवी तथा एमाले नेतृ गुरुङले भन्नुभयो । उहाँको यस कार्यमा सिन्धुलीका एमाले अध्यक्ष प्रदीप कटुवालले पनि सघाउनु भएको छ । नेता कटुवालले बिपन्नलाई राहत बितरण र फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, अस्पताल र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरी गुरुङले मनकारी भएको प्रमाणित गरेको र भविश्यमा पनि यस्तै काम गर्न सुझाव दिनुभयो । गुरुङले यसअघि भूकम्पको समयमा पनि सिन्धुलीमा राहात सामाग्री बितरण गर्नुभएको थियो ।