काठमाडौँ, असार १९ । स्पेन युरोकप २०२० फुटबलको सेमीफाइनलमा पुगेको छ । शुक्रबार राती भएको खेलमा स्वीटजरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३(१ गोलले हराउँदै स्पेन सेमीफाइनलमा पुग्ने पहिलो टिम बनेको हो ।
निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा स्पेनले तीन गोल गर्दा स्वीटजरल्यान्डले एक गोल मात्रै गर्न सक्यो । १० खेलाडीमा सिमित भएको स्वीटजरल्यान्डले खेल अवधिभर उत्कृष्ट खेलेर पनि पेनाल्टीमा गोल गर्न चुकेको थियो । १२० मीनेटसम्म गोल गर्न नसकेको स्पेन पेनाल्टीबाट जित निकाल्दै सेमीफाइनल पुग्ने भाग्यमानी टिम बन्यो ।
खेल सुरु भएको आठौँ मिनेटमै स्वीटजरल्यान्डका डेनिस जाकारियाको आत्मघाती गोलबाट स्पेनले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता जोगाएको स्पेनले दोस्रो हाफमा बचाउन सकेन । ६८ औँ मिनेटमा स्वीटजरल्यान्डका लागि कप्तान जार्दन शाकिरीले गोल गर्दै खेल बराबरीमा ल्याए । तर ७७ औँ मिनेटमा रिमो फ्रीउलरले रेर्ड कार्ड खाएर मैदान छाडेपछि स्वीटजरल्यान्डलाई गम्भीर धक्का लाग्यो । तर पनि उसले निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा स्पेनलाई गोल गर्न दिएन ।
प्रतिक्रिया दिनुहोस्