जनता टाइम्स

१९ असार २०७८, शनिबार १३:११

एमाले बिवाद समाधान कार्यदल बैठक सुरु, यस्तो छ ओली–नेपाल मिलाउने योजना


काठमाडौं, असार १९ । नेकपा एमालेको बिवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति जुटाएर पार्टीलाई एकतावद्ध बनाउने अठोटसहित सहमतिको खाकालाई अन्तिम रुप दिन कार्यदलको बैठक सुरु भएको हो ।

एमाले केन्द्रीय कमिटीको बैठकअघि छलफलमा जुटेका एमाले कार्यदलका सदस्यहरुले अहिलेसम्म जुटेको सहमति प्रयाश भाँडन नदिने बिषयमा केन्द्रित रहेको छ । कार्यदल सदस्य सुरेन्द्र पाण्डेका अनुसार एकतालाई जोगाउने बिषयमा कार्यदलमा अहिले छलफल भइरहेको छ ।
आज केन्द्रीय कमिटी बस्नुअघि ठोश सहमतिको प्रयाशका लागि बैठक बसेको पाण्डेले बताउनु भयो । कार्यदल सदस्यहरुले पछिल्लो समय अध्यक्ष ओलीभन्दा बरिष्ठ नेता नेपाल भडकिएको र एकता भन्दा बिभाजनतिरै जान लागेको हो कि भन्ने आशंका गरेका छन ।

सर्वाेच्च अदालतको फैसलाअघि प्रचण्ड र शेरबहादुर देउवालाई धोका दिएर एमाले बैठकमा नजाने नेपालको अडान रहेको छ । सोही कारण केही दिनयता नेता नेपाल आफ्नै समुहका सदस्यहरुसँग सम्पर्कबिहीन भई देउवा, प्रचण्डसँग लामो समय छलफलमा बिताउन थाल्नुभएको छ ।