जनता टाइम्स

१९ असार २०७८, शनिबार २०:३४

बाहिरियो चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले घुस मागेको तथ्य


काठमाडौं, असार १९ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले सम्बन्धन दिन २० करोड घुस मागेको तथ्य बाहिर आएको छ । बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटल एवं रिसर्च सेन्टरलाई सम्बन्धन माग्दा गिरीले २० करोड घुस मागेको तथ्य सो कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गर्नुभएको हो ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले २० करोडबिना सम्बन्धन नदिने घोषणा आफूसँग गरेको बताउनु भयो । ‘कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घुस माग्नु भएको थियो, नदिएर अख्तियारमा गएपछि उहाँ मप्रति पूर्वाग्राही हुनुहुन्छ, जसरी पनि सम्बन्धन नदिने योजनाअनुसार चल्नुभएको छ,’ प्रसाईले भन्नुभयो ।

घुस मागेको आरोप लागेका गिरी माओवादी नेता गिरिराजमणि पोखरेलका निकट सहयोगी हुनुहुन्छ । प्रसाईले कलेजलाई सम्बन्धन दिने, सरकारले नै चलाउने वा बन्द गर्नेबारे छिटो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह पनि गर्नुभयो ।