काठमाडौं, असार २१ । चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्नुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीसहित नेपालका राजनीतिक दलका शीर्ष नेतासँग भर्चअल छलफल गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीका सञ्चार बिज्ञ रामशरण बजगाईंले जनताटाइम्सलाई दिनुभएको जाकनारीअनुसार मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने टुंगो भएको छ । जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा ओली सहभागि हुने निश्चित भएको बजगाईंले बताउनु भयो ।
प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने बताइएको छ । चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिनुभएको छ । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ । सोही क्रममा नेपालका राजनीतिक दलसँग छलफलको आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्