विराटनगर, असार २३
प्रदेश–१ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने बताउनुभएको छ । आफ्नो कार्यक्षेत्र नभएपनि रक्सी ब्राण्डिङका लागि अध्ययन समिति बनाउनुभएको उहाँले आज प्रदेशसभामा तामाको भाडामा राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरेर ब्राण्डिङ गर्ने बताउनुभएको हो ।
प्रदेश–१ प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले रक्सी ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘रक्सी, जब अन्तर्राष्ट्रिय रुपमा हामीले बेच्ने कुरा गर्दैछौं भने यसले राष्ट्रियताको सवाल राख्छ, राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ ? त्यो उत्पादन गर्न हामी गइरहेका छौं ।’
सिलबर र अन्य धातुको भाडामा नभई तामाकै भाडामा कोदोको रक्सी बनाएर अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्ने उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो,‘कुनै सिलबरको भाडामा होइन, कुनै अरु धातुमा होइन, हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानिकरण गर्न गइरहेका छौं, अब तामाकै भाडामा जडिबुटीसहित कोदोबाट बनेको रक्सी बनाउछौँ ।’
उत्पादनपछि वैज्ञानिक रुपमा प्रशोधन गरेर दोस्रो स्टेजमा लैजाने बताउनुभयो । उहाँले भन्नुभयो,‘अब हामी अन्तर्राष्ट्रिय रुपमा जति प्रकारका रक्सीहरु उत्पादन भएका छन् । तिनीहरुलाई जित्ने गरी वैज्ञानिकरण गरेर त्यो भन्दा खान लायकको रुपमा ब्राण्डिङ गर्नेछौं यसमा जनतालई प्रत्यक्ष रुपमा सहभागि गराउने र राष्ट्रिय पूँजीपति आर्कषित हुनेछन् ।’
उहाँले रक्सीको व्यापारमा विस्तारै अन्तर्राष्ट्रिय लगानी पनि आउने बताउनुभयो । उहाँले थप्नुभयो,‘सम्मानीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यूले जब अन्तर्राष्ट्रिय डिनरहरुको उद्घाटन गर्नुहुन्छ, सजिएको ठाउँमा, उज्यालो ठाउँमा सबैभन्दा पहिला रक्सी नखोली त्यहाँ स्न्याक्स सुरु हुँदैन । हामीले पनि अब नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौं मिसावटरहित ।’













प्रतिक्रिया दिनुहोस्