काठमाडौं, असार २६ । एमाले एकता कार्यदलमा रहेका नेताहरूको निर्देशनपछि एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबारको सडक प्रदर्शन अचानक स्थगित भएको छ । कार्यदलमा रहेका नेताहरुले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न भनेपछि आज आयोजना गरिएको मार्चपास स्थगित भएको हो ।
युवा संघले आज अपरान्ह ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय गरेको थियो । बिपक्षीलाई सडकमै भेटने भन्दै युवासंघले आज सो कार्यक्रम आयोजना गरेकोमा पार्टीको निर्देशनपछि स्थगित भएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले जानकारी दिनुभयो ।
एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिबारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ । कार्यदलमा एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि प्रदर्शनहरू नगर्ने अनौपचारिक सहमति भएको थियो । युवासंघको मार्चपास अब आइतबार हुने जनाएको छ ।
माधव नेपाल पक्षधर विद्यार्थीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने लगायत सडक प्रदर्शन गरिरहेकाले ती गतिविधिसमेत रोक्न सुरेन्द्र पाण्डेले माधव नेपाललाई आग्रह गर्नुभएको थियो । तर नेपाल पक्षधर युवा संघमा रहेका नेताहरु अराजक रहेकोले कार्यदलको आग्रह अश्वीकार गरेको छ । माधव समुहको नाममा खडा भएको युवा संघको नेतृत्वमा रहेका अधिकांश अराजकता मच्चाउन माहिर छन ।













प्रतिक्रिया दिनुहोस्