काठमाडौं, असार २६
नेपालले १३ औं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजनाको तयारी अघि बढाएको छ । आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेको जानकारी गराएसँगै नेपालले साफ आयोजनामा दाबी प्रस्तुत गरेको छ । सोही अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ आयोजनाको तयारी थालेको हो । १३ औं संस्करणको साफ यस वर्ष बंगलादेशमा हुने तय थियो । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको थियो ।
कोभिड–१९ का कारण गत वर्ष हुनुपर्ने साफ फुटबल यस वर्ष सरेको हो । तर, आयोजक बंगलादेशले मुख्य तीन कारण देखाउँदै साफ आयोजनामा हात झिक्ने निर्णय गरेको छ । बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसै वर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताईसकेको छ । बंगलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलंकाले साफ आयोजनामा दाबी प्रस्तुत गरेका छन् । फुटबल संघमा नयाँ नेतृत्व आएपछि श्रीलंकाले साफको आयोजनामा दाबी प्रस्तुत गरेको छ ।
भर्खरै मात्र श्रीलंकाको फुटबल संघको नेतृत्वमा जसवार उमार आएका छन् । श्रीलंकासंगै नेपालले समेत साफ आयोजनामा दाबी प्रस्तुत गरेको छ । सोही अनुसार नेपालले तयारी थालेको हो । साफ आयोजनाको दाबी प्रस्तुत गर्दै एन्फाले नेपाल सरकारसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ । सरकारबाट बजेट निकासा भएको खण्डमा थप साढे एक करोड रुपैयाँ प्रायोजक र प्रत्यक्ष प्रशारणबाट जुटाएर साफ सम्पन्न गर्ने एन्फाको लक्ष्य छ । एन्फा महासचिव ईन्द्रमान तुलाधरले साफ आयोजनाका लागि नेपाल सरकारसंग साढे तीन करोड रुपैयाँ माग गरिएको खेलपाटीलाई बताए ।
‘सरकारबाट साढे तीन करोड रुपैयाँ प्राप्त गर्न सक्यौ भने बाँकी पैसा जुटाएर आयोजना गर्न सक्छौ भनेर तयारी गरिरहेका छौं ।’ तुलाधरले भन्नुभयो, ‘राखेपसंग साढे तीन करोड माग गरेका छौं । प्रायोजक र मिडियाबाट थप पैसा उठाउन सकिन्छ जस्तो लाग्छ ।’ उहाँले थप्नुभयो ‘साफ फुटबलको बजार मुल्य करिब १० करोड होे । तर हिसाब गर्दा हामीले ५ करोडमा प्रतियोगिता गर्न सक्छौ जस्तो देखिएको छ ।’
एन्फाले कोभिडको प्रतिकुल अवस्थामा रंगशालामा दर्शक राख्ने परिकल्पना गरेको छैन । सोही कारण दर्शक नहुने अवस्थाको बजेट हिसाब गरेर तयारी अघि बढाईएको छ । फुटबल प्रतियोगिताको आयको मुख्य स्रोत भनेकै दर्शकको टिकटबाट उठ्ने पैसा हो । एन्फा महासचिव तुलाधरले प्रतियोगिता आयोजना गर्ने हिसाबबाट तयारी अघि बढाईरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘श्रीलंका र नेपाल दुवैले तयारी गरिरहेका छौं । जसले १० लाख डलर दिन्छ, साफ उतै जाने सम्भावना रहन्छ । त्यो पैसा हामीले उठाउन सक्ने अवस्था छैन । तर आयोजना गर्ने हिसाबबाट तयारी अघि बढाईरहेका छौं ।’ नेपालले गत चैतको दोस्रो साता त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । विश्वकप छनोटका खेल नेपालमा नहुने देखिएपछि एन्फाले कीर्गिस्तान र बंगलादेशलाई आमन्त्रण गरेर त्रिदेशीय फुटबल आयोजना गरेको थियो ।
दर्शक सहित प्रतियोगिता आयोजना गरेर नेपालले तीन करोड बढी रकम आम्दानी गरेको थियो । नेपालले प्रतियोगिताको उपाधि समेत हात पारेको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता साफ नेपालले अहिलेसम्म जित्न सकेको छैन । भारत साफ फुटबलको सर्वाधिक सफल देश हो । साफको तयारीका लागि नेपालले प्रशिक्षण समेत सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराईरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्