जनता टाइम्स

३१ असार २०७८, बिहीबार १७:२४

कोरोना त्रास : पारिवारिक जमघटसमेत नगर्न स्वास्थ्य मन्त्रालयको अपिल


काठमाडौं, असार ३१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले पारिवारिक जमघटसमेत नगर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले प्रेस ब्रिफिङका क्रममा कोरोना संक्रमण बढिरहेकाले परिवार, आफन्त, साथीभाइसँग भेटघाट नगर्न आग्रह गर्नुभएको हो ।

‘अहिले संक्रमण घटेको छैन । हामी विवाह, व्रतवन्ध,पुजाका वहानामा परिवार आफन्तसँग भेटघाट गरिरहेका छौं तर त्यही भेटघाटले परिवारका सदस्य गम्भिर भएको या गुमाउन पर्नेसमेत पनि हुनसक्छ, रमाइलोका लागि गरिएको भेटघाट हाम्रा लागि दुखद पनि हुनसक्छ त्यसैले अहिले जमघट गर्ने बेला होइन,’ अधिकारीले सचेत गराउनुभयो ।

नेपालमा आज २ हजार ६७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै १७५७ जना निको भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको छ। देशभर हालसम्म ७ लाख १२ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २६ हजार ४६८ जना संक्रमित निको र ९ हजार ४६३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको मन्त्रालयले जनाएको छ ।