जनता टाइम्स

२ श्रावण २०७८, शनिबार १५:४०

फेरि माधव नेपाल निवास पुगे प्रचण्ड, कार्यदल सदस्यमाथि तत्कालै लगाम लगाउन निर्देशन


काठमाडौं, साउन २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपालको निवास पुग्नुभएको छ । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यन्वयनमा जुटेका बेला माओवादी अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो ।

कार्यदलले गरेको सहमतिलाई एमाले स्थायी कमिटीले अनुमोदन गरेपछि निकै सकसमा पर्नुभएको नेपाललाई थप रणनीति सुनाउनु प्रचण्ड आफै निवास पुग्नुभएको स्रोतको भनाई छ । पुनःस्थापित संसदको अधिवेशन आइतवारबाट शुरु हुँदैछ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड माधव निवास पुग्नुभएको खुमलटार स्रोतको भनाई छ । गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ । रामकुमारी झाँक्री, डा. बिजय पौडेल, कल्याणी खडकासहितका आफू निकट केहीलाई मन्त्री बनाएर पठाउने माआवको योजना रहेपनि सो समुहका अधिकांश नेता देउवा प्रचण्डको मोहमा परेर आफ्नो भविश्य बर्वाद नपार्ने अडानमा छन । कार्यदलको सहमतिअनुसार दुवै पक्ष जानुपर्ने अडान राख्दै दोस्रो तहका नेताहरुले देउवा सरकारमा जाने बिषय सोच्नसमेत नसकिने बताए पनि माधव भने मुखैमा आएको सत्ताको स्वाद लिन छाडेर एमालेमा एकता नगर्ने पक्षमा हुनुहुन्छ ।

प्रचण्डले माधवको यही सूचना पाएर बिघटन भइसकेको कार्यदललाई पुनः सक्रिय बनाएर एमालेलाई बलियो बनाउने काम नगर्न र सत्तामा तत्कालै सहभागी हुनका लागि मनाउन कोटेश्वर पुग्नुभएको बताइएको छ । गत पुसयता माधवले प्रचण्डलाई नै आफ्नो प्रमुख नेता मान्दै आउनु भएको र प्रचण्ड पनि माधवलाई आफूतिर राखेर एमालेबिरुद्ध प्रयोग गर्ने भरपुर कोशिष गरिरहनु भएको छ । स्रोतका अनुसार प्रचण्डले कार्यदलमा रहेका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीतिर ढल्किएको भन्दै तत्काल लगाम लगाउन माधवलाई निर्देशन दिनुभएको छ ।

त्यसो त एमालेको पछिल्लो घटनाक्रमका बारेमा दुई नेताबीच पछिल्लो समय नियमित छलफल भइरहेको छ । माधव नेपाल पछिल्लो पटक सत्ता गठबन्धनको बैठकमा सहभागी नभए पनि आफ्ना प्रतिनिधि पठाउँदै आउनु भएको छ । पछिल्लो बैठकमा नेपालले डा. बिजय पौडेललाई पठाउनु भएको थियो ।