जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १२:४७

माधवलाई आफ्नै समुहका नेताले दिए कडा चेतावनी


काठमाडौं, साउन ३ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई उपाध्यक्ष भीम रावलसहित आफ्नै समुहका प्रभावशाली नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने कुरा सोच्न पनि नसकिने भन्दै एकलौटी निर्णय नगर्न चेतावनी दिनुभएको छ । माधव निवासमै पुगेर उपाध्यक्ष रावलसहित प्रभावशाली नेताहरुले यस्तो चेतावनी दिनुभएको हो ।

एमाले उपाध्यक्ष रावल नेपालको तर्फबाट बिघटित कार्यदलका संयोजकसमेत हुनुहुन्छ । रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्टसहितका नेताहरुले बरिष्ठ नेता नेपाललाई आत्महत्याको बाटो नलिन चेतावनी दिनुभएको हो । प्रधानमन्त्री देउवाले एमालेलाई बिभाजन गर्नकै लागि समय छँदाछँदै पहिलो बैठकमै बिश्वासको मत लिने प्रस्ताव दर्ता गरेको भन्दै नेताहरुले देउवालाई बिश्वासको मत दिने काम आत्महत्या सरह हुने निश्कर्षसमेत नेपाललाई सुनाउनु भएको छ ।

नेता नेपाल र प्रचण्डकै योजनाअनुसार प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभाबाट बिश्वासको मत लिने प्रस्ताव दर्ता गराउनु भएको छ । एमाले एकढिक्का बनाउन लागेका कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिअनुसार पार्टी अघि बढनुपर्ने भन्दै आज बिहान माधवलाई बिश्वासको मत दिने निर्णय कहाँ भएको छ ? भन्दै एकलौटी निर्णय गरे आफूहरुले नै गद्धारको प्रमाणपत्र उपलब्ध गराउने चेतावनी दिनुभएको हो । कार्यदका सदस्यहरु आज बिहान माधव निवासमा पुग्नुभएको थियो ।

माधवसँगको छलफलपछि एमाले सचिव भीम आचार्यले देउवालाई बिश्वासको मत दिने बिषयमा अहिलेसम्म आफूहरुको समुहमा छलफलसमेत नभएको बताउनु भयो । ‘कुन ब्यक्तिले के भन्छ ? त्या थाह भएन, हाम्रो समुहमा बिश्वासको मत दिने बिषयमा छलफलसमेत भएको छैन,’ माधव नेपालकै निवासमा उभिएर आचार्यले भन्नुभयो । देउवाले एमाले बिभाजनका लागि यस्तो षडयन्त्र गरेको भन्दै आचार्यले देउवालाई बिश्वासको मत दिने कुरा एमालेको निर्णय नहुने बताउनु भयो ।

‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले पनि निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन, भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन,’ आचार्यले भन्नुभयो ।