काठमाडौं, साउन ११
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने पुनः प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडा–२१ को वडा भवनको आज शिलान्यास गर्ने सिलसिलामा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भन्नुभयो, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौँ । यो हाम्रो घोषणा अनुसारकै कार्य हो ।’ शाक्यले यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिनुभयो । ‘केही कार्यालय भवनको निर्माण कार्य जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।’
उहाँले केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिनुभयो । ‘मुद्धा परेका कारण हामीले महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न सकेनौँ,’ उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेला प्रतिवद्दता व्यक्त गरेका धेरै काम सम्पन्न गरेका छौँ । केही काम भने कानुनी र प्राविधिक कारणले समस्या भएको छ ।’
काठमाडौँ महानगरपालिकामा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सम्र्वसम्मतिमा अघि बढाउन सफल भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । ‘पूर्वाधार थपिदैँ र जनसंख्या बढ्दै गएपछि पहिला निर्माण भएका वडा भवनबाट सेवा प्रवाह गर्न असजिलो हुने भएकाले हामीले वडा कार्यालय भवन पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘खरिद प्रक्रियामा रहेका काम मात्रै हामीले सम्पन्न गर्ने हो भने पनि यहाँ धेरै काम भएको देखिन्छ ।’
प्रमुख शाक्यले आफूले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘हामीले विस्तारै सबै वडालाई समयानुकुल बनाउँदै लगेका छौँ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ । भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ । यो सबै काम हाम्रै कार्यकाल भित्र सम्पन्न गरेरै छाड्छौँ ।’
महानगरपालिकाले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको छ । ‘ वडा–३, ४ र २६ को पनि उद्घाटन भैसकेको छ,’ शाक्यले भन्नुभयो, ‘वडा– १४ को गृह प्रवेश भैसकेको छ ।’ काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार वडा–२, ६, १२, २०, २२, २९, निर्माण प्रक्रियामा छन्,’ श्रेष्ठले भन्नुभयो, ‘वडा–१२, ३१, १६ को पनि प्रक्रिया अघि बढेका छ । अन्य वडा भवनको स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।’
उहाँले आज शिलान्यास भएको वडा-२१को भवन भूकम्प प्रतिरोधी भएकोे जानकारी दिनुभयो । ‘भवन ६ तलाको हुनेछ,’ श्रेष्ठले भन्नुभयो ‘जमिन तला वडा कार्यालयका लागि प्रयोग हुनेछ । पहिलो तला गुठीका लागि प्रयोग हुने छ । बाँकी अरु तलामा पनि वडा कार्यालयकै रुपमा प्रयोग हुनेछ ।’ भवनको पाँचौ तलामा ५० जना क्षमताको हल रहने छ भने भवन अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुनेछ । ‘भवनमा लिफ्टको समेत व्यवस्था गरेका छौँ,’ श्रेष्ठले भन्नुभयो, ‘भवन निर्माणको कार्यादेश २ करोड ६ लाख ९० हजार रहेको छ । निर्माणकार्य २०७८ चैत २० मा सम्पन्न गर्नुपर्ने छ ।’ शिलान्यास कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्