काठमाडौं, साउन १२ । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशले स्थानीय तहको पैसालाई पार्टीको नाममा बितरण गरेर अत्यन्तै निकृष्ट हर्कत गरेको छ । माओवादीले सोमवार सिन्धुपाल्चोकका बाढीपीडितलाई ६७ लाख ९० हजार रुपैँया सहयोग गरेको जनाएको छ तर सो रकममा माओवादीको एक रुपैयाँ पनि लगानी रहेको छैन । माओवादीले गरेको यो सहयोग स्थानीय तहले उपलब्ध गराएको रकम हो । विभिन्न स्थानीय तहका सरकारले उपलब्ध गराएको सो रकममा माओवादीले आफ्नो पार्टीको नाम जोडेर बितरण गरी पीडितलाई थप पीडा दिएको हो ।
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सिन्धुपाल्चोकको चौतारा नगरपालिकाले ११ लाख, भोटेकोसी गाउँपालिकाले ५ लाख, चितवनको भरतपुर महानगरपालिकाले १० लाख र माडी नगरपालिकाले ६ लाख रुपैँया सहयोग गरेका हुन । यस्तै पीडितको राहत र पुर्नस्थापनाको लागि नुवाकोटको ककनी गाउँपालिकाले ५ लाख रुपैँया सहयोग गरेको छ । नुवाकोटकै पञ्चकन्या गाउँपालिकाले ३ लाख सहयोग गरको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले ३ लाख, सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकाले संयुक्त रुपमा ६ लाख , रामेछापको सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाले ३÷३ लाख,।काभ्रेपलान्चोकको चौँरी देउराली गाउँपालिकाले ६ लाख, महाभारत गाउँपालिकाले ३ लाख रुपैँया सहयोग गरेका छन् । यस्तै यसैगरी मकवानपुरको वाग्मती गाउँपालिकाले ३ लाख र ललितपुरको कोन्जोसोम गाउँपालिकाले ९० हजार रुपैँया सहयोग गरका छन् । ती पालिकाबाट प्राप्त भएको रकम ६७ लाख ९० हजार रुपैँया तीनवटा पालिकालाई माओवादीको नाममा बराबरी हुनेगरी वितरण गरिएको हो । माओवादीले वितरण गरेको भनिएको सो रकममा माओवादीको काहीँ कतै दाबी नै लाग्दैन । तर सरकारी पैसा पार्टीले सहयोग गरेको भन्दै माओवादीले फण्डा देखाएको हो । खासमा माओवादीले सरकारी पैसामा पार्टीको नाम जोडेर शक्तिकै दुरुपयोग गरेको हो ।
सोमबार बिहान माओवादीले मेलम्ची नगरपालिकाको सभा हलमा निक्कै तामझामका साथ कार्यक्रम गरेर रकम सिन्धुपाल्चोका मेलम्ची नगरपालिका, पाँचपोखरी थाम्पाल र हेलम्बु गाउँपालिका प्रतिनिधिलाई हस्तान्तरण गर्यो । माओवादी पार्टीको वाग्मती प्रदेशका सहइञ्चार्ज हितमान शाक्य, हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल, केन्द्रीय सदस्य माधव सापकोटा र युवराज दुलाल समेतको उपस्थितिमा तामझामका साथ रकम हस्तान्तरण गरिएको थियो । माओवादीले हस्तान्तरण गरेको भनिएको सबै रकम सरकारी रकम हो ।













प्रतिक्रिया दिनुहोस्