जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १८:१२

गृहमन्त्रीको निवासमै ज्वाईं सत्कार पाएपछि प्रहरीलाई धम्क्याउन थाले डन


काठमाडौँ, साउन १२ । बालकृष्ण खाँण गृहमन्त्री भएपछि कांग्रेस निकट डनहरुको फुर्ती बढेको छ । गृहमन्त्री खाँणको नाम लिँदै केही डनहरु त प्रहरीलाई नै धम्काउन थालिसकेका छन् । त्यसो त मन्त्री खाणले पनि आफ्नो निवासमै डनहरुलाई स्वागत गर्नुभएको छ । पोखराका ललित गुरुङले आइतबार मन्त्री खाणलाई पुल्चोकस्थित निवासमै भेटेर बधाई दिनुभएको छ ।

यो दृश्यले प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् । उहाँकै नेतृत्वमा पोखरामा वर्षौसम्म संगठित रुपमा गुन्डागर्दी चलेको थियो । एलजी ग्रुपका नाममा उहाँले व्यवसायीलाई आतंकित बनाएको आरोप लाग्दै आएको छ । पटक पटक पक्राउ परे उहाँ जेल समेत बस्नुभएको पोखराका स्थानियबासी बताउछन् । पछिल्लो पटक २०७५ सालमा कास्की प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । प्रहरी आक्रामक बनेपछि उनी कांग्रेसका केही नेतालाई प्रभावमा पारेर तरुण दलमा लाग्नुभएको थियो । हाल उहाँ तरुण दल लमजुङको नेता बन्नुभएको छ ।

राजनीतिक आवरणमा उनको गुन्डागर्दी अझै नरोकिएको प्रहरी अधिकारीहरु बताउँछन् । त्यस्ता व्यक्तिलाई गृहमन्त्रीले स्वागत गर्नुभएको छ । उहाँमात्र होइन कांग्रेस निकट अन्य ‘डन’हरुको समेत चुरीफुरी बढेको छ । काभ्रेली समूहका दावा लामा लगायतको आतंक बढ्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।