काठमाडौं, साउन १२
नेपालमा कोरोना भाइरसको अर्को भेरियन्ट ‘कप्पा’ पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट भेटिएको पुष्टि भएको जनाएको छ । कोभिड -१९ संक्रमितबाट भाइरसको नमूना झिकेर ‘जिनोमिक सिक्वेन्सिङ’ गर्दा डेल्टा भेरियन्टमा उत्परिवर्तन आएको पाइएको हो ।
२०७८ जेष्ठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरू विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्ष्टिच्यूट अफ जिनोमिक्स तथा इन्ट्रगेटिभ बायोलोजीमा सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयको जनाएको छ ।
तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको छ जसलाई एवाई.१नाम दिइएको मन्त्रालयले जनाएको छ। यी सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी १.६.१.७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टी भएको छ ।
यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाईएको तथा संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ । त्यस्तै मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्