जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार २२:०५

व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने भन्ने कानुन बनोस् : कांग्रेस सांसद राजभण्डारी (भिडियाेसहित)


काठमाडौं, साउन १२ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधानले व्यवसायीलाई सांसद बन्न दिएको बताउनुभएको छ । तर तिनै सांसद मन्त्री बन्दा भने टिकाटिप्पणी हुने गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा व्यवसायीसमेत रहेका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपछि आलोचना भइरहेको छ। त्यसतर्फ संकेत गर्दै राजभण्डारीले आज प्रतिनिधि सभा बैठकमा व्यवसायीहरू सांसद बन्न पाउने अधिकार संविधानमै रहेको बताउनुभयो । तर मन्त्री बन्न पाउने कि नपाउने भन्ने कानुन बनाउन उहाँको माग छ।‘ अहिले व्यवसायीहरूका बारेमा चर्चा भइरहेको छ। संविधानले व्यवसायीलाई सांसद बन्न त दिएको छ। तर अहिले मन्त्री बनेकाबारे टिकाटिप्पणी भइरहेका छन्। को मन्त्री बन्न पाउँछ को बन्न सक्दैन भन्ने कानुन र नियम बनोस्,’ उहाँले भन्नुभयो । यस्तो कानुन बनाउन ढिला नगर्न उहाँले संसदमै रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि ध्यानाकर्षण समेत गराउनुभयो । ‘कानुन मन्त्री यहीँ हुनुहुन्छ, यथाशीघ्र यस्तो नियम बनाउनुपर्छ। ढिला नहोस्,’ उहाँले भन्नुभयो ।