काठमाडौं, साउन १५। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्रीमा आफू निकटलाई नै नियुक्त गर्ने तयारी गर्नुभएको छ। स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भइसकेपछि ‘फूल मन्त्री’मा पनि प्रधानमन्त्री देउवाले आफू निकटलाई जिम्मेवारी दिने तयारी गर्नुभएको हो ।देउवा निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयमा फरक दल वा पार्टीभित्रै फरक समूहबाट मन्त्री र राज्यमन्त्री नबाउने सोचमा प्रधानमन्त्री हुनुहुन्छ ।
ती नेताले भने, ‘फरक दलबाट वा दलभित्रका दुई समूहबाट मन्त्री र राज्यमन्त्री बनाउँदा प्रभावकारिता कम हुने सोचेर आफ्नै समूहबाट स्वास्थ्यमन्त्री बनाउने तयारी छ।’ फरक समूहबाट मन्त्री र राज्यमन्त्री हुँदा निर्णय प्रक्रियामा एकले अर्कालाई असहयोग गर्न सक्ने हुनाले एउटै पक्षबाट मन्त्री बनाउने उहाँको योजना रहेको छ । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ प्रधानमन्त्री निकट रहेकाले मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिने सम्भावना रहेको देउवा निकट अर्का नेता बताउँछन । कानूनी पृष्ठभूमि रहेकी पुष्पा भुसाललाई कानूनमन्त्रीको जिम्मेवारी दिएर हाल कानूनमा रहेका कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको पनि स्रोतले दावी गरेको छ ।
देउवाले कार्कीलाई ल्याउने तयारी गरे पनि यसमा अन्य केही नेताहरुले भने मानेका छैनन्। उनीहरुले स्वास्थ्यमा मन्त्री नियुक्त गर्दा धेरै कुराको सोचविचार गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छन्। गठबन्धनका अन्य दल र पार्टी भित्रका समूहले आफ्नो पक्षका नाम सिफारिस गरेको अवस्थामा आजै मन्त्रीको सपथ हुने बताइएको छ। स्वास्थ्यमन्त्रीमा नेता कृष्णप्रसाद सिटौला निकट उमाकान्त चौधरीको चर्चा चलेको थियो। चौधरी मन्त्री बन्ने निश्चितप्रायः भएपनि कुन मन्त्रालय भने टुंगो नलागेको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्