एक त कला साहित्यप्रेमी भएकाले स्वभावैले म बढी भावनात्मक, अर्को मैले चिनेको पहिलो कवि देवकोटा र पछिल्लो समय सबैभन्दा बढी उनकै कृति पढेको हुनाले होला उनको त्यो जीर्ण घरप्रति मेरो छुट्टै आत्मियता जोडिएको थियो । हो त्यही घर भत्किएको सुन्दा र पढ्दा मेरो मन निकै अमिलो भयो । मुटु चस्स दुख्यो । त्यो उभिइरहेको घर देख्दा देवकोटा नै उभिएका हुन जस्तो लाग्थ्यो । त्यो घर ढल्दा देवकोटा नै ढलेको जसरी यो मन भावुक बन्यो
जानू न्यौपाने
जबदेखि म अलिकति बुझ्न सक्ने भएँ, तबदेखि गीत, संगीत, कला, साहित्य मेरो प्रिय बन्यो । म शब्द मात्रै चिन्न सक्ने भएको थिएँ । एकदिन दिदीले किताब पढ्दै हुनुहुन्थ्यो । मैले त्यो किताब हेरेँ त्यहाँ एउटा कविता थियो ‘यात्री’ “कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?, कुन सामाग्री पूजा गर्ने साथ कसोरी लाने हो …..। जीवनमा पहिलो पटक कविता पढेको मैले । त्यो कविताको भाव र गहिराई बुझ्ने मेरो उमेर थिएन । मैले दिदीलाई के बुझेर हो त्यो थाहा छैन लक्ष्मीप्रसाद देवकोटा भनेको को हो दिदी भनेँ । उहाँले ‘हाम्रो देशको ठूला कवि हुन महाकवि भनेर चिनिन्छ’ भन्नुभयो । देवकोटासँग पहिलोपल्ट ‘यात्री’ कवितामार्फत अप्रत्यक्ष रुपमा म केही नबुझ्दै साक्षात्कार भएको थिएँ । पछि बुझ्ने भएपछि धेरै पटक यात्री गीत सुनेँ, त्यस्को भाव बुझेँ । जतिपटक त्यो गीत सुन्थेँ, त्यतिपटक देवकोटासँग प्रत्यक्ष भेट्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो जुन असम्भव थियो ।
म नेपाली साहित्यको विद्यार्थी । उसै पनि साहित्य मन पर्ने झन साहित्य नै पढेपछि अझ रस बस्यो । जीवनमा पहिलो पटक कोही कवि चिनेको थिएँ भने मैले देवकोटा नै चिनेको हुँ । उनकै कविता पढेको हुँ । त्यसैले कोही साहित्यकारको नाम लिनुपर्दा म उनकै नाम लिन्थेँ । र उनीप्रति मेरो विशेष लगाव थियो । मैले देवकोटाको फुटकर कवितादेखि खण्डकाव्य र महाकाव्य लगभग सबै पढ्ने अवसर पाएँ । जति उनको कृति पढ्थेँ, उनीप्रति त्यति नै श्रद्धा बढ्दै जान्थ्यो । उनको जीवनी पढ्दै गर्दा धेरैपटक यी आँखा रसाएका छन । उनको बारेमा जति पढ्छु, जति सुन्छु अझै कमी लाग्छ मलाई । मेरो लागि देवकोटा आदर्श व्यक्ति हुन् । देवकोटा बिनाको नेपाली काव्य साहित्य कल्पना गर्न सकिँदैन । त्यस्ता कवि फेरि यो देशले पाउला या नपाउला प्रश्नचिन्ह नै छ ।
मैतिदेवीको बाटो हिड्दै गर्दा म प्रत्येक पल्ट देवकोटालाई सम्झिन्छु । उनका कैयन यादहरु छन त्यस घरसँग । कैयौं कृति रचना गरिएका थिए त्यही घरमा बसेर । कताकता देवकोटाको त्यो घर देख्दा उनीसँग साक्षात्कार भएको अनुभूति पनि हुने गर्थ्यो । एक त कला साहित्यप्रेमी भएकाले स्वभावैले म बढी भावनात्मक, अर्को मैले चिनेको पहिलो कवि देवकोटा र पछिल्लो समय सबैभन्दा बढी उनकै कृति पढेको हुनाले होला उनको त्यो जीर्ण घरप्रति मेरो छुट्टै आत्मियता जोडिएको थियो । हो त्यही घर भत्किएको सुन्दा र पढ्दा मेरो मन निकै अमिलो भयो । मुटु चस्स दुख्यो । त्यो उभिइरहेको घर देख्दा देवकोटा नै उभिएका हुन जस्तो लाग्थ्यो । त्यो घर ढल्दा देवकोटा नै ढलेको जसरी यो मन भावुक बन्यो ।
लिच्छविकाल, मल्लकालमा बनेका सयौँ धरोहर हजारौँ बर्षसम्म अझै सुरक्षित छन । जुन आन्तरिक र बाह्य पर्यटकोको मुख्य गन्तव्य बनेको छ । देवकोटाको एकसय बर्ष नपुगेको घर भत्काउनु पर्ने अवस्था न आउनुपर्ने जस्तो लाग्छ । त्यसैलाई पुनर्निर्माण गरेर त्यही सङ्ग्राहलय उनको यादहरु सुरक्षित राख्न सकेको भए उनको लागि यो सम्मान विशेष हुनेथियो । फेरि नयाँ संरचना त बन्ला । तर गोरे र कुन्जिनीको आदर्श प्रेमको झल्को, मुना मदनको त्याग, सिरिजको मातृ प्रेमको आभास अर्थात यस्ता कैयौँ पात्रहरुको उपस्थितिको अनुभूति त्यही जीर्ण घरको भित्ता, ढुङ्गा, माटो, काठपातमा जति हुन्थ्यो आधुनिकताले सुसज्जित महलमा पाइएला या नपाइएला सोचिरहेको छु । त्यसैले देवकोटाको घर ढल्दा कताकता देवकोटा नै ढेलेको तितो अनुभूति भयो ।
प्रतिक्रिया दिनुहोस्