एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्व लिन संघका नेताहरु तीब्र लबिङमा लागेका छन । महाधिवेशनमा संघको अध्यक्षमा बर्तमान अध्यक्ष क्षितिज थेवेसहित ५ जना र महासचिवमा ७ जना दावेदार देखिएका छन ।
काठमाडौं, जेठ २ । नेकपा एमालेको युवा जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा सम्पन्न हुँदैछ । देशभरिबाट १ हजार ९ सय प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
पार्टीले जनसंगठनका केन्द्रीय नेतृत्वलाई संख्यात्मक दृष्टिले छरितो बनाएपछि युवा संघको आगामी केन्द्रीय कमिटी १५१ सदस्यीयमा सीमित हुँदैछ । त्यसभित्र जम्मा ९ पदाधिकारी चयन गर्नुपर्नेछ । अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय रहेको छ । त्यसैले अहिले भएका केन्द्रीय पदाधिकारी र सदस्यबाट महाधिवेशनले १८८ जनालाई बिदा गर्नुपर्ने भएको छ । त्यसभित्र नयाँ सदस्य केन्द्रीय कमिटीमा आउन चाहन्छन् ।
पार्टीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको संख्या घटाए पनि आयोग, विभाग र प्रदेशको हकमा भने विद्यमान व्यवस्था नै कायम राख्न युवा संघका नेताहरु लागिपरेका छन । विद्यमान व्यवस्थाअनुसार संघका ३५ वटा केन्द्रीय विभाग रहनेछन । निर्वाचन, अनुशासन र लेखासहित ३ आयोग यथावत रहने भएको छ । ५१ सदस्यीय विज्ञ युवा परिषद् पनि कायमै राखिने कार्यालय प्रमुख कृष्णदत्त जैसीले बताउनु भयो ।
संघका सात प्रदेश कमिटीसहित आठौं प्रदेशका रूपमा रहेको विशेष प्रदेशअन्तर्गत ७४ वटा अन्तरजिल्ला पनि कायमै रहने भएको छ । त्यसैले युवा संघको परिभाषित केन्द्रीय कमिटी १५१ सदस्यीय भए पनि कन्द्रीय नेतृत्वसरह मानिने विभाग, आयोग, परिषद् र प्रदेशबाट योग्य युवालाई समेटिने भएको छ । अन्तरजिल्ला कमिटीले जिल्ला कमिटीसरहको हैसियतमा रहेको छ ।
महाधिवेशनमा भाग लिने १ हजार ८३५ प्रतिनिधिमध्ये केन्द्रीय कमिटी, आयोग, विभाग, परिषद्का सदस्यहरू स्वतः आयोजक हुने कार्यालय प्रमुख जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार १ देखि ४ वटा निर्वाचन क्षेत्र भएको जिल्लाबाट १ महिला अनिवार्यसहित ४ जना प्रतिनिधि चयन गरिएको छ । ५ वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट २ महिलासहित ५ जना प्रतिनिधिको व्यवस्था छ । प्रत्येक गाउँ र नगरपालिकाबाट १–१ जना, उपमहानगरपालिकाबाट १ पुरुष र १ महिलासहित २ जना र महानगरपालिकाबाट १ महिला अनिवार्यसहित ३ जनाको प्रतिनिधित्व हुन्छ ।
अध्यक्षमा ५ आकांक्षी
वर्तमान अध्यक्ष क्षितिज थेबेले दोस्रो कार्यकालका निम्ति पनि अध्यक्षको आकांक्षा राख्दा उक्त पदका निम्ति आकांक्षी संख्या ५ पुगेको छ । २०७९ चैत २७–२९ मा नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट थेबे अध्यक्षमा सर्वसम्मत हुनुभएको थियो ।
सवैले स्वीकार गरेको अवस्थामा पुनः एकपटक नेतृत्वमै रहने थेवेको चाहना रहेको छ । अध्यक्ष थेबेले पार्टीले आवश्यकता महसुस गरे दोहोरिने अन्यथा बाहिरिने बताउँदै आउनु भएको छ । युवा संघमा हालसम्म अध्यक्षको दावेदारमा उपाध्यक्ष महाराज गुरुङ, सुमन पुरी, कृष्णहरि केसी र प्रकाश गौतम देखिनुभएको छ ।
महासचिवमा ७ जना दावेदार
युवा संघको महाधिवेशनको मिति नजिकिदै जाँदा अध्यक्षमा भन्दा महासचिवका दावेदार बढी देखिएका छन । महासचिवमा उपमहासचिव राजन थापा र ५ सचिवसहित ७ जनाले दाबी गरिरहनु भएको छ । दावेदारमध्ये सचिव निरोज पौडेल, कुबेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं र पर्वत भण्डारीले महासचिवमा दावी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्