जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार १८:१८

गुरु भट्टराईको घोषणा : विषयभन्दा बाहिर गएर सोधिएको स्पष्टिकरणको जवाफ दिन्न


काठमाडौं, साउन २५ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले गठबन्धन सरकारले राजनीतिक पुर्वाग्रह राखेर आफ्नो कामसँग कुनै सम्बन्ध नभएको कुरामा स्पष्टीकरण सोधेको भन्दै जवाफ नदिने बताउनुभएको छ । सरकारले आइतबार आफुलाई केहि राजनीतिक विषयबारे आफुले गरेको व्यक्तिगत टिप्पणीलाई आधार बनाएर आफुलाई बर्खास्त गर्ने योजना अनुरुप राजनीतिक स्पष्टिकरण सोधिएको पनि प्रष्ट पार्नुभयो ।

आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सामाजिक संजालमा सरकारको विरोध, नेताको आलोचना र अदालतको फैसलामा टिप्पणीका विषयमा स्पष्टिकरण आएको भन्दै आफ्नो पदीय दायित्व र जिम्मेवारीसँग सम्बन्धित नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई सामाजिक संजालमा सरकारको विरोध गरेको, नेताहरूको आलोचना गरेको र अदालतको फैसलामा टिप्पणी गरेकोले तपाईलाई किन नहटाउने ? भन्दै सोधिएको छ यी मध्ये कुनै पनि कुरा मेरो पदीय दायित्व र जिम्मेवारीसँग सम्बन्धित छैनन ।’

महाप्रबन्धक भट्टराईले नेपालमा पुर्वाधार, जनशक्ति र अध्ययन अध्य्यापन समेत नहुने रेल्वे संचालन जस्तो कुरालाई शून्यबाट सुरु गरि यही महिना भित्र रेल चल्ने अवस्थामा ल्याएको र अन्तिम घडीमा रेल संचालनलाई नै अन्योलतामा पार्ने गरि निकाल्न खोजिएको आरोप लगाउनुभयो । उहाँले आफूले पदको निरन्तरता भन्दा पनि नेपालमा रेल चल्ने कुरालाई बढी प्राथमिकता दिएकोले हटाइने कुराले बिचलित नहुने र अप्रासंगिक कुरामा सोधिएको स्पष्टीकरणको जवाफ समेत नदिने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो,‘राजनीतिक प्रश्नको जवाफ महाप्रबन्धकको कुर्सीबाट होइन मैदानमा दिनेछु ।’

यसअघि देउवा सरकारले उहाँलाई कर्मचारीको आचरणविरुद्ध काम गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। साउन १९ गते बसेको मन्त्रीपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार महाप्रबन्धक भट्टराइसंग तीन दिनभित्र पेश गर्ने गरी लिखित स्पष्टिकरण मागेको छ। इमान्दारीपूर्वक काम नगरेको, अदालतको फैसलाको सम्बन्धमा अमर्यादित टिकाटिप्पणी गरेको, राजनीतिक दल र त्यसका पदाधिकारीलाई अशोभनीय र गाली गलौजको शैलीमा टिप्पणी गरी सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरणविरुद्ध कार्य गरेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक जिम्मेवारी अनुरुप काम नगरेको आधारमा महाप्रबन्धक पदबामट किन नहटाउने भनी स्पष्टीकरण सोधिएको छ।

उहाँको कार्यक्षमता वा कार्य सम्पादनको विषयमा केही उल्लेख नगरी सामाजिक संजालमा सरकारविरुद्ध लेखेको भनेर स्पष्टिकरण सोधिएकाले जवाफ नदिने बताउनुभएको हो । उहाँले शून्यमा रहेको कम्पनीलाई रेल संचालन योग्य बनाएको दाबी गर्नुभयो । शून्यबाट कर्मचारी नियुक्तीदेखि रेल संचालनको सम्पूर्ण तयारी भैसकेपछि स्पष्टिकरण सोधिएको भन्दै आफू हटे रेल संचालन अनिश्चित हुन सक्ने भन्दै त्यस्तो समस्या नआवस भन्ने चाहना रहेको बताउनुभयो ।

रेल संचालनको जिम्मा भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनलाई दिइएको छ । एक बर्षमा २२ करोड भारु तिर्ने गरी कम्पनीसँग सम्झौता भएको छ। कम्पनीले २६ जना मुख्य प्राविधिक, रेल मर्मत, सर्भिसिङ, सिग्नल मर्मत, कर्मचारी तालिमलगायतका सबै काम गर्नुपर्ने प्याकेज छ । केहीदिनभित्रै ८ करोड रुपैंया भुक्तानी नदिए कम्पनीले सम्झौता तोड्न सक्ने उहाँले सुनाउनुभयो । भुक्तानी दिने सम्पूर्ण तयारी भएपछि चेकमा साइन हुने बेला सरकारले स्पष्टीकरण सोधेकाले भुक्तानी दिन नसकेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘रेल संचालन गर्ने भारतलाइ कुटनीतिक माध्यमबाट पहल गर्दा तीनवटा कम्पनी प्रस्ताव भयो । एउटा मात्रै रेल संचालन गरिरहेको कोंकर्ण रेलवे कर्पोरेशनको नाम दिइयो । उसँगको सम्झौता तोडिए फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्छ, यस्तो अवस्था आए दुइ तीन बर्ष रेल नचलेर कवाडी हुन सक्छ ।’ उहाँले आफूले नियुक्ति पाएको १३ महिनामा करिव २ करोड रुपैयाँ खर्च भएको बताउनुभयो । जसमा १ करोड रुपैयाँ बढीको गाडी र फर्निचर खरिद गरेको उल्लेख गर्नुभयो ।