काठमाडौं, साउन २६ । सरकारले आठ जना सचिवको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका आठ सचिवको सरुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा गरी गृह सचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।
यसैगरी जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै आठ महिनाअघि सचिवमा बढुवा भएपछि प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन हुनुभएका प्रदेश २ का प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोग र ६ महिनाअघि सचिवमा बढुवा भएर प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन हुनुभएका सचिव सुमनराज अर्याललाई महालेखा नियन्त्रणको कार्यालयमा सरुवा गरिएको छ । यस्तै भर्खरै सचिवमा बढुवा हुनुभएका सचिव किरणराज शर्मा र खगेन्द्रप्रसाद नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छ ।













प्रतिक्रिया दिनुहोस्