काठमाडौं, साउन २९ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नै मन्त्रालय मातहत भइरहेको काम कार्वाहीप्रति गम्भीर असन्तुष्टि जनाउनु भएको छ । मन्त्रालय मातहत कार्यालयको बिफिङ लिने क्रममा अर्थमन्त्री शर्माले कर्मचारीको काम गर्ने शैलीलाई लिएर गम्भीर असन्तुष्टि जनाउनु भएको हो ।
‘अर्थमन्त्रीले काम गर्ने शैलीदेखि केही पनि ठीक भएन भनेर सवै कर्मचारीलाई आक्रोश पोख्नुभयो, सवै कार्यालयको बिफङ लिने क्रममा उहाँ जंगिनु भएको छ,’ अर्थ मन्त्रालयका एक सहसचिवले जनताटाइम्ससँग भने । आफूलाई भाषणमा नभई काममा प्रगति चाहिएको तर कर्मचारीको काम गर्ने शैली हुँदै नभएको भन्दै अर्थमन्त्री शर्माले आक्रोश पोख्नुभएको ती सहसचिवको भनाई छ । अर्थमन्त्री शर्मा बिहीवार राजस्व कार्यालयको बिफिङमा पनि जंगिनु भएको छ ।
‘चलिराखेकै छ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस, राजश्व संकलन बढाउन सकिने उपायहरु तपाईं आफै फेला पार्नुहुन्छ,’ सम्बोधनको क्रममा एकाएक जंगिदै अर्थमन्त्री शर्माको भनाई थियो । कामचोर प्रबृत्तिलाई आफूले छुट नदिने घोषणा गर्दै राजस्व दोब्बर पार्ने योजनासहित आउन अर्थमन्त्री शर्माले निर्देशन दिनुभएको छ । ‘त्यसको लागि तपाईलाइ के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजश्व दोब्बर बनाउने लक्षका साथ काम गर्नै पर्छ,’ अर्थमन्त्री शर्माको भनाई थियो ।
मन्त्री शर्माले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन पनि निर्देशन दिनुभएको छ । ‘करदाता आफै उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नोस,’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन, गुणात्मक सुधारको खाँचो छ ।’ सम्बोधनको क्रममा मन्त्री शर्मालेसमग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकता समेत औंल्याउनु भयो । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाव किताव खोई ? जनतासँग भएको सम्पत्ति के कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाव किताव गर्ने योजना पनि चाहियो,’ अर्थमन्त्री शर्माले भन्नुभयो ।
अर्थसचिव मधुकुमार मरासिनीले राजश्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिनुभयो । आन्तरिक राजश्व विभाग अन्तर्गतका ८४ वटा कार्यालयहरु सबैले राजश्व संकलनमा देखिएका समस्याहरुको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरु समेत निकाल्न सुझाउनु भएको थियो । देशका विभिन्न ठाँउमा रहेका ८४ वटा राजश्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष पूरा गरेको जानकारी दिँदै उहाँले सबै कार्यालयहरुलाई लक्ष अनुसारको काम गर्न निर्देशन दिनुभयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिनुभएको थियो । गत वर्ष कुल राजश्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजश्व विभागलाई ४५० अर्बको लक्ष तोकिएकोमा ४२९ अर्ब संकलन भएको छ । चालु आर्थिक वर्षको लागि ५२२ अर्ब राजश्व संकलनको लक्ष्य तोकिएको छ ।
यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आवद्ध छन् । व्यवसायीहरु करको दायरामा औपचारिक रुपले आवद्ध रहेको भएतापनि वार्षिक विवरण नबुझाउनेको संख्यामा भने वर्षेनी बृद्धि भइरहेको महानिर्देशक आचार्यले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्