जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार ०७:५८

माधवको तासको घर बनाउने बित्तिकै भत्किन सुरु


काठमाडौँ, भदौ ३ । नेकपा एमाललाई चोइटाएर नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनुभएका माधवकुमार नेपालको तासको घर बनाउने बित्तिकै भत्किन सुरु गरेको छ ।

नेपालले दर्ता गर्न लाग्नुभएको पार्टीको केन्द्रीय सदस्यमा नाम राखिएका नेताहरुले आफूहरु सो पार्टीमा नरहेको भन्दै धमाधम नाम फिर्ता लिन सुरु गर्नुभएको छ । नेपालले केन्द्रीय सदस्यमा नाम राख्नु भएका प्रदीप नेपालले नाम सार्वजनिक हुने वित्तिके किर्ते गरेर आफ्नो नाम राखेको प्रतिक्रिया जनाउनुभएको थियो । त्यस पछि नाम फिर्ता लिनेको लर्को नै लागेको छ । वाग्मती प्रदेश सभा सदस्य समेत रहनुभएकी रमा आले मगरले आफू एमालेमै रहेको बताउँदै आफ्नो सहमति र कागजपत्र कुनै दलका लागि पनि नदिएको बताउँदै नेपालले दर्ताको लागि निवेदन दिएको पार्टीमा आफू नरहेको प्रष्ट पार्नुभएको छ ।

उहाँको नाम नेपाल समूहले केन्द्रीय सदस्यमा राखेको छ । एमाले नेता भनुभक्त जोशीले पनि आफू निरन्तर पार्टी एकताको पक्षमा रहेको बताउँदै माधव नेपालले दर्ताको लागि निवेदन दिएको नेकपा एमाले (समाजवादी) मा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकरमा उहाँले लेख्नुभएको छ, ‘पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखिएकोमा मेरो असहमति छ ।’माधव नेपालको पार्टीमा केन्द्रीय सदस्यमा नाम राखिएका एमाले नेताहरु कृष्ण खनाल, नरेश खरेल लगायतका नेताले पनि आफूहरुसँग सल्लाह नगरी नाम राखिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँहरुले आफूहरु सो पार्टीमा नरहेको प्रष्ट पार्नुभएको छ ।