जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १३:१२

बगलीमा छुरा राख्नेहरुसँग होसियार हुनुपर्छ भीम रावल


ती नेताले सबै शाषकलाई चन्द्र शमशेर देख्दा रहेछन । जनताको सरकार देख्ने आँखा तिनको खुलेकै रहेनछ । त्यसैले अव भीम रावलहरु बगलीमा छुरा राख्नेहरुबाट होसियार हुनुपर्छ

प्रा.डा. बद्रीविशाल पोखरेल

माधव नेपाललाई उचालेर अन्तिम डिलसम्म पुर्याएर आफूहरुलाई अलग वा तेस्रो धारका रुपमा देखाउन कसरत गरिरहेका घनश्याम भुसालहरुको माग पढ्दा अचम्म र उदेक लाग्यो । यिनको कुरा पनि छर्लंग हुन थाल्यो । चुरो के रहेछ भने १० बुँदे सहमति अन्तर्गत गोप्य रुपमा भएको सहमति ओलीले पूरा गरिहाल्नु पर्छ नत्र … भनेर धम्क्याएको थाहा भयो । त्यो के रहेछ र हो भने माधव नेपाललाई नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओली सरह समान अध्यक्षसहित दुवैको समान हस्ताक्षर सहितको मागमा अडान रहेछ । र अझ उनीहरुको त अध्यक्ष ओलीबिनाको पार्टी बनाउने आन्तरिक षडयन्त्रमा न्वारानदेखिको बल लगाइरहेको देखिन्छ । आफूहरु सहमत भएको १० बुँदेअनुसार बैठकमा खुरुक्क नआएर पार्टीभित्रै रहेर समस्याको समाधान गर्नु पर्छ पनि भन्ने अनि बाहिर बाहिर छताछुल्ल पार्ने, अझ पार्टीलाई चरम अस्तव्यस्ततामा पुर्याउने मात्र होइन, आगामी दिनमा कुनै न कुनै कृतिम बहाना बनाएर तलदेखि माथिसम्म पार्टीलाई दुई चिरा पार्ने दुष्प्रयत्न वा कपट सहजै देखिन्छ ।

नत्र आफूहरु समेत भएर सर्वसम्मत १० बुँदे सहमतिबाट किन पछि हटेका हुन यी दोधारे नेताहरु ? कुनै पनि नेता जब जिब्रो चपाएर दोधारे कुरा गर्छ तब त्यो नेता पिँधबिनाको लोटा हो भन्ने बुझे हुन्छ । उपर्युक्त नेताका हरेक गतिविधि राम्ररी नियालिरहेको हुँदा यस लेखकको ठम्याइ हत्तपत्त खेर जाँदैन । तै पनि आशा मारिहाल्नु हुन्न । कहिले काहिँ मानिसको मति मर्ने बेलामा पनि फर्किन सक्छ । त्यसमा पनि यी नेताको आधा भन्दा बढी जीवन सगुलै रहेको छ । यिनलाई सही धार, दिशानिर्देशमूलक दवाव दिन सम्बन्धित जिल्लाका कार्यकर्ता, मतदाता, नेता र तिनका बुझ्झकी छन भने परिवारिक सदस्यले पनि उँभो मति दिन सक्छन तर मोदनाथ प्रश्रित र कविता पौडेल जस्ता हाम्रा अत्यन्त आदरणीय मानेका परिवार पुत्र विजय पौडेलसमेत स्खलित हुन थालेको देख्दा तिनका सबै विगत आगो लगाए हुन्छ । यसखालको नेता धेरै छन, तिनको नाम लिँदा पनि मुख अपवित्र होला जस्तो लाग्न थालेको छ । माओले भनेझैँ आजीवन इमान्दार र आन्दोलनप्रति प्रतिबद्ध र कटिबद्ध हुने कुरो महान हो ।

मुखमा रामराम बगलीमा छुरा भनेझैँ आफूलाई तेस्रो धार भन्न रुचाउने भीम रावलहरुको अवस्था के हुन्छ ? हेर्नुपर्छ तर घनश्याम भुसालहरुको विगतको चालामाला हेर्दा बगलीमा छुरा बोकेर हिँडेको हो कि भन्ने भय जागेको छ । बाठो लड्छ तीन बल्ड्याङ भनेझैँ भुसालहरु क्षमताका हिसाबले बाठा नै हुन । योग्यता, क्षमता, चातुर्य, क्रियाशीलता र लेखन पठन कर्ममा पनि उक्त समूहभित्र टाठा बाठाहरु पनि छन । कोही बोल्छन, समयमै चिनिन्छन । कोही आफूलाई लुकाउँछन तर कित्ता क्लियर गर्ने ऐन मौकामा बेलामा चरम बेसोमति बेहोरा देखाउँछन । यस लेखकले सबैको ग्रहदशा र जन्कुण्डली हेरेको छ र यिनले मात्र होइन, अहिले ओली वृत्तमै भएकाले कुनै कुनैले पनि मौकामा केसम्म गर्छन भन्ने स्पष्ट मार्ग आँकलन गरेको छ । तर तिनको रोगको घुर्मैलो लक्षण यस डाक्टरलाई थाहा छ तर रोग पूरै स्पष्ट नभइ भन्न भएको छैन, डाइग्नोसिस चलिरहेको छ । र यसको हल्का जानकारी पार्टी अध्यक्षलाई पनि गराइएको छ ।

एउटा पाइलाबाट एउटा वाक्यबाट र एक पटकको जिम्मेवारीबाट मानिसलाई चिनिन्छ । कोही चाहिँ अलि सिल्ली सिल्ली पाराका हुन्छन, तिनले पनि आफ्नो सक्कली स्वरुप धेरै समय लुकाउँछन तर त्यो स्खलित चरित्र समयमा उदाङ्गो भइछाड्छ । यस्ता मान्छे एक लाखमा आफूलाई इमान्दार देखिन्छन तर करोडको भाउमा ती सजिलै बिक्छन । अहिले त एमाले पार्टीमा खसी किन्नेको ओइरो देखिन्छ । र तिनले तिनको औकात अनुसार मोलमोलाइ गरिरहेका छन । त्यसमाथि निर्वाचनबाट जबजका प्रकाशमा जनताको स्वेच्छिक अभिमतद्वारा अल्पमत, बहुमत र अझ दुई तिहाइ ल्याएर सरकार सञ्चालन गर्ने कुरा देशी बिदेशी प्रतिक्रियावादीलाई टनटनी टाउको दुखाइको विषय बनेको छ । नेपाललाई चरम शोषण, दोहन गर्न बानी परेकाहरु र तिनका भरौटेहरु यो देश विकसित भएको देख्न चाहँदैनन । त्यसमाथि स्वस्थ लोकतान्त्रिक अभ्यासबाट नेपालमा कम्युनिस्टहरुको उदय र वर्चस्व स्थापित हुने कुरा प्रतिक्रियावादीलाई पच्ने विषय नै होइन । त्यसैले यस पार्टीलाई गुप्तगु षडयन्त्र गरी छिन्नभिन्न पार्न खोजेको अनेक उदाहरणले पुष्टि गर्छ ।

खुमबहादुर खड्काले बामदेव गौतमलाई भारी रकम दिएर पार्टी फुटाउन लगाउँदा होस वा अशोक राईलाई पश्चिमा शक्तिले महंगै प्रलोभनमा पारेर पार्टी चोइट्याउने दुष्प्रयत्नबारे आमजनता राम्ररी जानकार छन । जन निर्वाचित र जनप्रिय एमाले पार्टी र यसको सरकारलाई सजिलै अस्तव्यस्त पार्न सकिन्न भन्ने बुझेको प्रतिक्रियावादी शक्ति पार्टीभित्रै प्यादा खोजेर र तिनलाई अनेक प्रलोभन दिएर प्रयोग गरी खण्डित गर्ने दुष्प्रयत्न गरिरहेको देखिन्छ । एमालेलाई तह लगाउन प्रतिक्रियावादीको कुनै दवाव, दमन र बल पनि कामयाव हुँदैन । किनकि विचार सिद्धान्तनिष्ट पार्टी, नेता र कार्यकर्ताहरु सतीसालझेैँ सय वर्ष लडा, पडा र खडा हुन्छन र भएका छन । आस्था, विचार र सिद्धान्त त्यस्तो बल हो, जो जुनसुकै आश, त्रास र बतासले गल्दैन, ढल्दैन र बरालिँदैन । दोधारे र दोग्ला चरित्रलाई माक्र्सवादी नेता र कार्यकर्ताले दुत्कार गर्छन । आदरणीय नेता नारायणमान बिजुक्क्षेबाट ठोस परिस्थितिको ठोस विश्लेषणबारे दोधारे नेताले प्रशिक्षण लिए हुन्छ । पार्टीलाई चरम विभाजनकर्ता प्रमुखद्वय नेताको त के कुरा गर्नु ? यी त कम्युनिस्ट आन्दोलनका कलङ्क हुन । अझ नितान्त व्यक्तिगत पदीय लोभमा आजीवन लिसोझैँ टाँसिन नपाउँदा पार्टीलाई खरानी पार्ने माधव नेपाललाई कुन विशेषण दिने हो ? पाठककै जिम्मा भयो ।

त्यसबेला यिनले किन लड्डु मुखमा हालेर चुपचाप बसे ? कार्यकर्ता र जनताको दवावका कारण अहिले कुखुरा पालूँ कि पोइल जाउँ भन्ने दोधारमा परेको स्पष्ट हुन्छ । मदनले भनेझैँ सिद्धान्तका सबालमा दोधारे कुराको कुनै अर्थ छैन । माओले भनेझैँ सिद्धान्त र जनतामा विश्वास नहुने ‘नेता’ नेता हुँदैन । यस्ता सबाललाई बेवास्ता गर्ने कम्युनिष्ट नेता हुन्छ ? माक्र्सवादको फलाको गर्ने अनि चारतारे झण्डा बोकेर माक्र्सवादको रक्षा गर्छु भन्ने कम्युनिस्ट नामका कलंङ्कको के कुरा गर्नु ? यिनले त ओलीका कारण संविधान बनेको, दुई तिहाइसहितको सरकार बनेको र विगतका तुलनामा सरकारले दीर्घकालीन समेत गरी अदभूत काम गरेको देखिसहेनन

तेस्रो धारे वा दोधारे नेताहरु विभिन्न नितान्त निजी स्वार्थग्रस्त छन । तिनले आफू मात्र होइन, अरुहरु अलि असल नेतालाई पनि गुमनाम र बदनाम पार्ने खतरा देखिन्छ । त्यसैले तिनले समयमै बुझून । यो ०५२ साल होइन, यो बामदेव गौतमलगायतको हद दर्जाको चरम अवसरवादलाई आम कार्यकर्ता र शुभेच्छुकले नबुझेको समय पनि होइन । त्यही भएर होला, अहिले तिनलाई पार्टी फुटाउने आँट नआएको तर यिनले मौका पाएका भए र पाउँदा उहिल्यै पार्टी फुटाइ सक्थे र फुटाउँछन । किनकि तिनमध्ये केही जबजका चरम विरोधी पनि छन । तिनले ओलीलाई त साधारण सदस्यबाट हटाएकै थिए ।

त्यसबेला यिनले किन लड्डु मुखमा हालेर चुपचाप बसे ? कार्यकर्ता र जनताको दवावका कारण अहिले कुखुरा पालूँ कि पोइल जाउँ भन्ने दोधारमा परेको स्पष्ट हुन्छ । मदनले भनेझैँ सिद्धान्तका सबालमा दोधारे कुराको कुनै अर्थ छैन । माओले भनेझैँ सिद्धान्त र जनतामा विश्वास नहुने ‘नेता’ नेता हुँदैन । यस्ता सबाललाई बेवास्ता गर्ने कम्युनिष्ट नेता हुन्छ ? माक्र्सवादको फलाको गर्ने अनि चारतारे झण्डा बोकेर माक्र्सवादको रक्षा गर्छु भन्ने कम्युनिस्ट नामका कलंङ्कको के कुरा गर्नु ? यिनले त ओलीका कारण संविधान बनेको, दुई तिहाइसहितको सरकार बनेको र विगतका तुलनामा सरकारले दीर्घकालीन समेत गरी अदभूत काम गरेको देखिसहेनन । अझ विपक्षी दलका नेताझैँ एकोहोरो कटु आलोचना पनि गरिरहे र तिनले केसम्म भन्न भ्याए भने ओलीलाई फासीवादी पनि भने ।

माओवादी जनयुद्ध कालमा नेपालको ८० प्रतिशत भूभाग कव्जा गरेको भन्ने पार्टीको अस्तित्व उक्त भूभागमा के कति होला स्वयं पाठकले देख्नुभएकै होला तर माले र एमालेले उहिल्यै सञ्चालन गरेको देशव्यापी पार्टीगत राजनैतिक वैचारिक अभियानका कारण स्वैच्छिक रुपमा भुइँतहबाट स्वतःस्फूर्त रुपमा जुटेको, उठेको र जगाएको कम्युनिस्ट आन्दोलन अहिले पनि देशव्यापी रुपमा र जीवित रहेको छ । हर घरमा कम्तीमा एउटा न एउटा बुझ्झकी एमाले देशभर छ ।

मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या गरेपछि पार्टीमा विषवृक्ष रोपेर हुर्काएर झाँगिएपछि त्यसका मातहत के कस्तो बिउ र विरुवा रोपिए ? अनि हुर्किए भन्ने कुरा जगजाहेर भएकै छ । तैपनि केही बिग्रेको छैन, बुद्धि पुर्याए यो पार्टी सबल बन्न सक्ने आधार पर्याप्त छन । सुनसरीको आचार्य र निरौला थरि पनि दोधारे प्रवृत्तिमा रहेको देखियो तर तिनको रामधुनी नगरपालिका वा झुम्कामा नै अस्तित्व धरापमा रहेको छ । तिनले यस लेखकलाई ओली र उहाँले नेतृत्व गरेको सरकारका सकारात्मक पक्षको उल्लेख गर्दा शाषकको स्तुति गान गर्ने भाट भनेका थिए । तर ती निरौला थरि नेताले सबै शाषकलाई चन्द्र शमशेर देख्दा रहेछन । जनताको सरकार देख्ने आँखा तिनको खुलेकै रहेनछ । त्यसैले अव भीम रावलहरु बगलीमा छुरा राख्नेहरुबाट होसियार हुनुपर्छ ।