जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १०:२५

तालिवानलाई चुनौती दिने पंजशीर प्रान्त कब्जा गर्न अघि बढे तालिवानी लडाकु


काबुल, भदौ ७ । तालिवानले अफगानिस्तानको पंजशीर प्रान्त नियन्त्रणमा लिन आफ्ना लडाकु पठाएको छ । राजधानी काबुलसहित प्रायः सबै इलाकामा तालिवानले कब्जा जमाउँदा पंजशीर घाटी भने नियन्त्रण बाहिर रहेको छ । तालिवानका प्रवक्ताले आइतवार राती तालिवानका सयौ लडाकु पंजशीर घाटीतर्फ अघि बढेको जानकारी दिएका छन् ।

काबुलको उत्तरमा अवस्थित पंजशीर तालिवान विरोधीहरुको गढका रुपमा परिचित छ । जसको नेतृत्व पूर्वमुजाहिदीन कमाण्डर अहमद शाह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन् । स्थानीय अधिकारीले शान्तिपूर्ण तरिकाबाट पंजशीर प्रान्त हस्तान्तरण गर्न नमानेकाले सयौं लडाकुहरु नियन्त्रणमा लिन अघि बढिरहेको तालिवानले विज्ञप्तिमार्फत जनाएको छ ।

बीबीसीका अनुसार तालिवानले राजधानी काबुल नियन्त्रण लिएपछि सरकारी अधिकारी, सुरक्षाकर्मी र हजारौ मानिस सुरक्षाका लागि पंजशीरतर्फ गएका छन् । मसुदको नेतृत्वमा तालिवानी विरोधी बलले तालिवानको सामना गर्न करिब ९ हजार मानिस तयार पारेको बताइएको छ । मसुदले अफगानिस्तानको रक्षाका लागि तयार रहेको र जस्तोसुकै परिस्थितिको सामना गर्ने बताउँदै आएका छन् ।