जनता टाइम्स

७ भाद्र २०७८, सोमबार २२:०६

तालिबानले सत्ता नियन्त्रणमा लिएपछि स्वदेश फर्कने नेपालीको सङ्ख्या ६ सय ५४ पुग्यो


काठमाडौं, ७ भदौ । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि स्वदेश फर्कने नेपालीको सङ्ख्या ६ सय ५४ पुगेको छ । आज सोमवार एक सय ४९ जना नेपाल आइपुगेसँगै स्वदेश फर्कनेको सङ्ख्या ६ सय ५४ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उद्धार गरी स्वदेश फर्काइएका उनीहरूलाई सामाखुसीमा रहेको होल्डिङ सेन्टरमा लगेर कोरोना परीक्षण लगायतका प्रक्रिया पूरा गरी घर पठाइन्छ । अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, लन्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई पनि काठमाण्डौसम्म ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको छ । अहिलेसम्म तीन सय ६१ जनाले निवेदन दिएका र उनीहरूको उद्धारको प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट  https://nepalconsular.gov.np/  अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेको छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू –९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग) ७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) ९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र ९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेको छ । नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसको जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएको छ ।