काठमाडौं, १३ भदौ । मन्त्री पदपाउने आसमा गुट परिवर्तन गरेर एमालेबाट एकीकृत समाजवादी पार्टीमा समाहित भएका सुदुरपश्चिमका नेता प्रेम आलेलाई झट्का लागेको छ । उहाँलाई मन्त्री बनाउन पार्टी अध्यक्ष माधव कुमार नेपालले अनइच्छा देखाएकाले झट्का लागेको हो ।माधव नेपालको पक्षमा जिउज्यान फालेर लाग्नुभएका सुदुरपश्चिमका नेता शेरबहादुर कुँवरले पनि मन्त्रीमा दावि गरेकाले प्रेम आले यो पटक मन्त्री नहुने लगभग पक्का भएको हो ।
अहिलेसम्म एकीकृत समाजवादीबाट युवा र महिलाको नेतृत्व गर्दै रामकुमारी झाँक्रीलाई मन्त्री बनाउने भन्नेमा करिब–करिब सहमति जुटेको छ । त्यसबाहेक प्रदेश १ बाट भवानी खापुङले दाबी गर्नुभएको छ । वाग्मती प्रदेशबाट विरोध खतिवडा र जीवनराम श्रेष्ठको दाबी छ । गण्डकी प्रदेशबाट किसान श्रेष्ठको मुख्य दाबी छ । सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर र प्रेम आलेले दाबी गर्नुभएको छ। आलेले मन्त्री नपाउने लगभग पक्का हो । उहाँ खेमाका किसान श्रेष्ठ मन्त्री बन्ने भएपछि उहाँलाई बाइपास गरिएको श्रोतको भनाई छ । समाजवादीले उपसभामुखमा प्रदेश २ बाट एक जना महिलालाई अघि सार्ने तयारी छ ।
नेकपा एकीकृत समाजवादीलाई मन्त्रीका आकांक्षी मिलाउन हम्मेहम्मे परेको छ । एमालेको औपचारिक विभाजनलगत्तै सरकारको काम तीव्र पार्ने बताएका सत्ता गठबन्धनका नेताहरूले मन्त्रिपरिषद् विस्तारमा अझै दुई–तीन दिन लाग्ने संकेत गरेका छन् । मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बिहान छलफल भए पनि कहिलेसम्म विस्तार गर्नेबारे ठोस सहमति बनेको छैन ।
प्रधानमन्त्रीनिकट एक नेताका अनुसार कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिए पनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने सम्भावना रहेकाले मन्त्रिपरिषद् विस्तार नाम दिएलगत्तै गर्ने तयारी छ । स्रोतका अनुसार जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । खास गरेर जसपा र एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् । महन्थ ठाकुर पक्षका सांसदहरूले मन्त्रीकै लोभमा कित्ता परिवर्तन गरेका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका आठ सांसद पनि मन्त्रीकै आसमा माधव नेपालतिर लागेका थिए ।













प्रतिक्रिया दिनुहोस्