जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार १९:५५

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि बम आक्रमण



काठमाडौं, भदौ १३ । काबुल विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको विवरणहरू सार्वजनिक भएका छन् । विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा धुँवाको कालो मुस्लो देखिएको बीबीसीले जनाएको छ ।

अफगान स्वास्थ्य मन्त्रालयले पनि काबुल विमानस्थल नजिक विस्फोट भएको पुष्टि गरेको छ । विस्फोटमा के–कति क्षति भयो भन्नेबारेमा भने विवरण प्राप्त भइसकेको छैन ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका बीबीसीमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट हुन सक्ने चेतावनी दिइरहँदा काबुल विमानस्थल नजिकै विस्फोट भएको हो ।

यसअघि बिहीवार पनि काबुल विमानस्थलबाहिर विस्फोट भएको थियो । त्यो विस्फोटमा एक सय ७० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटमा डेढ सयभन्दा धेरै घाइते भएका थिए ।