जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार २२:२२

टुंगिएन मन्त्रालय भागवण्डा: मन्त्री बन्न नपाएकाहरुले दल विभाजन गरिदिन्छन् भन्ने चिन्ताले भएन मन्त्रीपरिषद विस्तार


काठमाडौं, भदौ १३। सरकार विस्तार एवम् पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा शीर्षस्थ नेताहरूबीच छलफल विना निकर्ष सकिएको छ । आज साँझको छलफलका आधारमा सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ । सो बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । आज बिहान पनि उहाँहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

तर आज साझ बसेको बैठकबाट पनि टुंगो लाग्न नसकेपछि पुन भोली विहानको लागि बैठक बोलाईएको छ । गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ । तर गठबन्धनबीच मन्त्रालयका विषयमा कुरा नमिल्दा भोली सोमबार विहान ९ बजे गठबन्धनको बैठक बोलाइएको छ । नेताहरुका अनुसार सत्तारुढ दलका शीर्ष नेताहरुको यो दौडधुप मन्त्रिपरिषद् विस्तारका लागि हो ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीको भरमा सरकार संचालन गर्नुभएको छ । सरकार गठनमा निर्णायक भूमिका खेलेको माधवकुमार नेपाल समूह एमालेमै रहने कि नयाँ दल खोल्ने भन्ने अलमलमा रहेका कारण सुरुमा मन्त्रिपरिषद् विस्तार हुन सकेन । नेता नेपालले एमाले विभाजन गरेर बनाएको नेकपा एकीकृत समाजवादीले मान्यता पाइकेकाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गर्न नहुने नेताहरुको जोड छ । तर आइतबार साँझसम्म कुन दलले कति र कुन मन्त्रालय लिने मात्र होइन, उपप्रधानमन्त्री बनाउने कि नबनाउने पनि टुंगो लागेको छैन । प्रधानमन्त्री देउवा उपप्रधानमन्त्री नराख्ने पक्षमा हुनुहुन्छ ।

तर माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट उपेन्द्र यादवले सरकारमा पार्टीको नेतृत्व गरे उपप्रधानमन्त्री बनाउनुपर्ने बाध्यता छ । भोलि बोलाइएको पाँच दलीय गठबन्धनको बैठकमा मन्त्रालय भागवण्डा टुंगिए ढिलोमा १६ गतेसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने प्रधानमन्त्री निकट नेताहरु बताउँछन् । तर दल विभाजनका लागि ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्ने मत पनि देखिएको छ । अध्यादेशअनुसार एमाले र जसपाका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउँछन् । त्यसपछि दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्न सहज हुने मत पनि छ । अन्यथा एकीकृत समाजवादी र जसपामा मन्त्री बन्न नपाएकाहरुले दल विभाजन गरिदिन्छन् कि भन्ने चिन्ता देखिन्छ । किनकी अध्यादेशअनुसार २९ सांसद भएको एकीकृत समाजवादी ६ सांसदले र २२ सांसद भएको जसपा ५ सांसदले फुटाउनसक्छ ।
नेताहरुका अनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ वटा मन्त्रालय लिने प्रस्ताव छ ।
तर एमाले विभाजन गरेर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात सहित ६ वटा मन्त्रालय दाबी गरेको छ ।

तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसहित ५ वटासम्म मन्त्रालय दिन कांग्रेस तयार देखिएको छ, तर माओवादी केन्द्रले चार मात्र भनेको छ । प्रधानमन्त्री निकट एक नेता भन्छन्, ‘अहिले उहाँहरुलाई संगठन विस्तारमा सहज हुने मन्त्रालय चाहिएको छ । त्यो भूमिसुधार हुनसक्छ ।’

यस्तै एकीकृत समाजवादीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि पाउने सम्भावना छ । यद्यपि कांग्रेसमा यो मन्त्रालय आफैंले राख्नुपर्ने मत पनि छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले मन्त्रालय बाँडफाँट समान हुनुपर्ने भन्दै ५ वटा दाबी गरेको छ । तर कांग्रेस र माओवादी नेताहरुले चार मन्त्रालय दिने बताउँछन् । भौतिक पूर्वाधार र परराष्ट्रमध्ये एक जसपाले पाउने सम्भावना छ । यसैगरी अर्थ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधारसहित थप चार मन्त्रालय दाबी गरेको छ ।