काठमाडौं, भदौ १४ । जनता समाजवादी पार्टी (जसपा)मा मन्त्री बन्न हानाथाप भएको छ । जसका कारण जसपालाई मन्त्रीको नाम टुंगो लगाउन धौ–धौ भएको छ । हाल जसपामा २२ सांसद छन् । जसपा स्रोतका अनुसार अधिकांश सांसदले मन्त्रीमा दाबी गरेका छन् । मन्त्री नबनाएमा पार्टी छाड्नेदेखि फोड्नेसम्म धम्की सांसदहरूले दिन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ढिलोमा बुधबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेपछि मन्त्री चुन्न जसपा अध्यक्ष उपेन्द्र यादवलाई हैरानी भएको हो ।
यसअघि यादव आफैं सरकारमा जाने तयारीमा रहनुभएको थियो । तर, पार्टीभित्रैबाट विरोध र सत्तारुढ गठबन्धनले सरकारमा उपप्रधानमन्त्री दिन नसकिने बताएपछि उहाँ मन्त्री नबन्ने मनस्थितिमा पुग्नुभएको एक स्रोतले जनाएको छ । उहाँले यसअघि उपप्रधानमन्त्री दाबी गर्नुभएको थियो । कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने पनि जसपाले टुंगो लगाउन सकेको छैन । आकांक्षी धेरै भएपछि जसपालाई मन्त्री छान्न धौ–धौं भएको छ ।
जसपाले यसअघि ७ मन्त्रालयले पाउनुपर्ने माग गरेको थियो । एमाले विभाजन गरेका माधवकुमार नेपालको पार्टी नेकपा एकिकृत समाजवादी पनि सरकारमा जाने भएपछि जसपाले हाल ६ मन्त्रालय माग गर्दै आएको छ । तर, सत्तारुढ गठबन्धनले जसपालाई बढीमा ५ मन्त्रालयले दिन सकिने प्रष्ट पारिसकेको छ । यस्तो अवस्थामा मन्त्रालयको संख्या कम र मन्त्रीका आकांक्षी बढी भएपछि अध्यक्ष यादवलाई अहिले टाउको दुखाइको विषय बनेको छ । जसपा स्रोतका अनुसार मन्त्री बन्न धेरै सांसद आकांक्षी भएपनि महेन्द्र राय यादव मन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ ।
त्यस्तै, सांसदहरू प्रदीप यादव, रेणु यादव, मोहम्मद इस्तिया राई, अमृता अग्रहरी मन्त्री बन्ने सम्भावना छ । जसपा विवादमा मन्त्री बन्ने आशमा केही सांसद महन्थ ठाकुलाई छाडेर यादव पक्षमा लाग्नुभएको थियो । तर उहाँहरुले मन्त्री नबनाएपछि साथ छाडने वा पार्टी विभाजन गर्ने चेतावनी दिएपछि जसपा अध्यक्ष यादव थप दवावमा परेका छन् । जसपाका एक सांसद भन्छन्, ‘सबैलाई समेट्दै मन्त्रीको नाम टुङ्ग्याउनु अध्यक्ष ज्यूलाई चुनौंती छ । सबैलाई मन्त्री चाहिएको छ । मन्त्री नबनाए पार्टी छाड्नेदेखि फोड्नेसम्म धम्की दिइरहेका छन् ।’













प्रतिक्रिया दिनुहोस्