जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार २२:४४

कारागारबाट गणमा लगिए सेनाका जवान, जेल बसेको ३० महिनापछि निर्दोष साबित


काठमाडौं, भदौ १८ । नेपाली सेनाका दुई जवानहरू जेल बसेको ३० महिनापछि निर्दोष सावित हुनुभएको छ। हतियार चोरी प्रकरणमा दोषी ठहरिएका उहाँहरू सैनिक विशेष अदालतको शुक्रबारको फैसलामा भने निर्दोष ठहरिनभएको हो । सेनाले हतियार चोरीको मुख्य योजनाकार भनी अमल्दार पोस्टमा कार्यरत लवकुमार गुरुङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो।

गंगाधर ढकालले चोरेर लुकाएको हतियार लव र सरोजले चोरेको भनी बयान प्रमाणित गरिएको थियो। हालसम्म लव र सरोज भरतपुर कारागारमा रहनुभएको थियो । सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरुङको साउन ७ गते हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो। चोरी भएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो। हत्या आरोप लागेका गंगाधरविरुद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ।

०७५ साल पुस ४ गते लव र सरोजमाथि हतियार चोरीको आरोप लागेको थियो। त्यतिखेर समरी अदालतबाट उहाँहरू ०७५ चैत २८ गते कारागार चलान हुनुभएको थियो । लवकुमारलाई १० र सरोजलाई सात वर्षका लागि जेल सजाय तोकिएको थियो। चोरी भएको हतियार बेचेको आरोपमा दुई सर्वसाधारण तारा तामाङ र पवन गुरुङले भने सफाइ पाउनुभएको थियो । हतियार चोरी घटनामा लव र सरोज संलग्न भएको जबर्जस्त पुष्टि गराएको सेनाले चोरी भएको हतियार बिक्री गर्नमा भने तारा तामाङ र पवन गुरुङ संलग्न भएको भनी चितवन प्रहरीलाई अनुसन्धानका लागि पत्र पठाएको थियो।

उदयपुर चौदण्डीगढी नगरपालिका– ९ का २१ वर्षीय पवन लवको नाताले सौतेनी भाइ हुनुहुन्छ भने उदयपुरकै त्रियुगा नगरपालिका– ४ की २८ वर्षीया तारा लवकी जेठीसासू हुनुहुन्छ । त्यतिखेर चोरी भएको हतियार कहिले परालको टौवामुनि त कहिले खेतको ह्युमपाइपमा लुकाएर राख्ने गरेको गंगाधर ढकालले बयान दिएका थिए। ३० महिनासम्म निर्दोष व्यक्तिहरूले अनाहकमा कारागार सजाय भोग्दा चोरी गर्ने सेनाभित्रकै फरक व्यक्ति रहेको पुष्टि भएपछि सेनाभित्रको न्यायिक अनुसन्धान प्रक्रियामा एक पटक प्रश्न उठेको छ।