काठमाडौं, १९ भदौ । दोस्रो पटक नेकपा एमाले परित्याग गरेका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन ४ वटा शर्त तेर्स्याएका छन् । नेकपा (एस) का अध्यक्ष नेपालसँग चारवटा शर्त राखेका गौतमले शुक्रवार एमालेको सम्पूर्ण जिम्मेवारीवाट मुक्त भएको भन्दै राजीनामा दिनुभएको थियो । गौतम एमालेमा उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । ‘राजीनामा दिनुभन्दा पहिला वामदेवजीले चारवटा शर्त राख्नु भएको थियो,’ समाजवादीका नेता बेदुराम भुसालले भन्नुभयो,‘उहाँले राखेका शर्तका बारेमा पार्टीमा छलफल भइरहेको छ ।’ उहाँका अनुसार सो शर्त पूरा भएमा मात्रै आफू नेकपा एसमा आउने गौतमको भनाइ छ ।
गौतमले संविधानमा उल्लेख भएको शासकीय स्वरुपलाई परिवर्तन गर्नुपर्ने पहिलो शर्त राख्नुभएको छ । अहिले ‘सुधारिएको संसदीय व्यवस्था’लाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नेकपा (एस) मञ्जुर भएमा सो पार्टीमा प्रवेश गर्ने पहिलो शर्त छ । त्यसका बारेमा नेकपा (एस) का अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिनुभएको छ । यसैगरी, गौतमले हालको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दोस्रो शर्त नेपालसमक्ष राख्नुभएको छ ।
संविधानमा भएको प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली दुवै परित्याग गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नेकपा (एस)ले स्वीकार गरे आफू नेपालसँगै रहने उल्लेख गर्नुभएको छ । गौतमको सो शर्तमा पनि पार्टीभित्र छलफल गरेर जवाफ दिने अध्यक्ष नेपालले जनाउनुभयो । संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने शर्त राखेका गौतमले संघीयताको स्वरुप परिवर्तन गर्न पार्टी तयार हुनुपर्ने अर्को शर्त पनि तेर्स्याउनुभएको छ । हालको संघीय स्वरुपले मुलुकको हित नहुने भन्दै नयाँ संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एस) मञ्जुर भए अध्यक्ष नेपालसँगै रहने जनाउनुभयो ।
गौतमका महत्वपूर्ण तीनवटा शर्तमा नेपालले पार्टीभित्र छलफल गर्ने जनाए पनि पार्टीको कार्यदिशा र मार्गदर्शक सिद्धान्तमा भने नेपाल–गौतम नजिक–नजिक देखिनुभएको छ । जननेता मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज) लाई नेकपा एसले मार्गदर्शन सिद्धान्त मानेमा आउन सक्ने जनाएपछि अध्यक्ष नेपालले त्यसमा ‘विचार गर्ने’ जनाउनुभएको हो । ‘नेकपा एसको अबको कार्यदिशा जबजको जगमा नै बनाउने हो तर त्यसलाई थोरै परिवर्तन र विकास गर्नुपर्ने हुन्छ,’ नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘जबज छाडिन्न, यसैको जगमा पार्टीको कार्यदिशा बनाउने हो, यसमा ढुक्क हुनुहोस ।’ जबजलाई अध्यक्ष नेपालले स्वीकार गर्ने जनाएपछि चार शर्त मध्ये एक शर्तमा दुई नेताको बीचमा सहमति भएको छ ।
छलफलमा नेपालले गौतमलाई एमाले परित्याग गरेर आएमा वरिष्ठ उपाध्यक्ष वा एकल उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । ‘नेकपा एमाले परित्याग गरेर आउनुहोस्, वरिष्ठ उपाध्यक्ष बनाउन हामी तयार छौं,’ नेपालको प्रस्ताव थियो, ‘राष्ट्रिय सम्मेलनले ७ जना उपाध्यक्षको प्रस्तावलाई अस्वीकार गर्यो भने एकल उपाध्यक्ष बन्नुहोस् ।’ नेकपा (एस)का अध्यक्ष नेपालले आफूपछि वरिष्ठ नेतामा झलनाथ खनाल र तेस्रो स्थानमा गौतमलाई राख्न मञ्जुर हुनुभएको छ । तर, शुक्रवार एमालेबाट राजीनामा दिएका गौतम यतिखेर भने स्वतन्त्र हुनुहुन्छ । उहाँ नेपाल नेतृत्वको पार्टीमा प्रवेश पनि गरिसक्नुभएको भने छैन ।













प्रतिक्रिया दिनुहोस्