काठमाडौं, भदौ १९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट नरहेको दाबी गर्नुभएको छ । एमाले काठमाडौं महानगर कमिटीको भेलालाई आज दिउँसो सम्बोधन गर्दै उहाँले उनीहरु सबै मिलेर आए मात्रै जमानत जोगिने बताउनुभयो । ‘एक्लाएक्लै आयौ भने जमानत जफत हुन्छ, त्यसैले म भन्छु एमालेसँग चुनाव लड्न एक्लै आउने आँट नगर्नू,’ ओलीले भन्नुभयो, ‘मिलेर आउनु, जमानत जोगिन्छ ।’
आफूले माधव नेपाल जस्ता नकच्चरो मान्छे विश्वमा कहिँ नदेखेको समेत बताउनुभयो । ओलीले एमालेले एक्लै चुनाव लड्न सक्ने र जित्न सक्ने बताउनुभयो । उहाँले थप्नुभयो, ‘यो पार्टीले एक्लै चुनाव लड्न सक्छ, एक्लै चुनाव जित्न सक्छ । गठबन्धन बनाएर झ्यालबाट मच्छर पसेजस्तो बस्ने बाटो पनि आउँदो चुनावबाट बन्द गरिदिन्छौं ।’
उहाँले हिजो चुनाव टिकट दिँदा आफूहरुले केही गलत मान्छेलाई दिएको समेत बताउनुभयो । हिजो एमालेबाट चुनाव जितेर सांसद भएका केही व्यक्ति देउवाको दैलोमा खान पाइन्छ कि भनेर ढुकिरहेको आरोप समेत लगाउनुभयो । ओलीले एमालेको घरका बिराला देउवाको भान्सामा ढुक्न पुगेको भन्नुभयो । वामदेव गौतमप्रति लक्षित गर्दै ओलीले उपप्रधानमन्त्रीको निवेदन हालेर उपाध्यक्षबाट राजीनामा दिएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्