बैतडी, भदौ २८ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर(७ ढाँडकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्थानीय २० वर्षीया मञ्जु कार्कीको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले कार्कीलाई उद्धार गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको जानकारी दिनुभयो । कार्कीले डिलाशैनी गाउँपालिका वडा नम्बर ४ स्थित हाडाकोट स्वास्थ्यचौकीमा बच्चा जन्माए पनि सालनाल अड्किएपछि उद्धार गरेर धनगढी लगिएको हो ।
जिल्ला अस्पताल बैतडीको समन्वय तथा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सुत्केरी महिलाको उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थानअन्तरगतको हवाइ उद्धार कार्यक्रमअन्तर्गत कार्कीको उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोसीले बताउनु भयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गमका महिलाको ज्यान बचाउन राष्ट्रपति महिला उत्थानअन्तरगतको हवाइ उद्धार कार्यक्रम अघि बढाएको थियो ।













प्रतिक्रिया दिनुहोस्