जनता टाइम्स

६ आश्विन २०७८, बुधबार २१:४२

महासचिवको लफडाले लम्बियो नेकपा एसको बैठक, यी हुन दावेदार


काठमाडौं, असोज ६ । नेकपा एकीकृत समाजवादीको बैठकमा महासचिव छनोटमा कुरा नमिलेपछि लम्बिएको छ । महासचिव छान्नुपर्ने र केन्द्रीय सदस्यको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा नेताहरुबीच नै कुरा नमिलेपछि बैठक लम्बिएको हो ।

नेकपा एसमा महासचिवका लागि बेदुराम भुसालसँगै युवा पुस्ताका नेताहरु दावेदार हुनुहुन्छ । अध्यक्ष नेपाल बेदुरामलाई महासचिव बनाउने योजनामा रहेपनि युवा नेताहरु उहाँबाट पार्टी निर्माण नहुने भन्दै युवालाई स्थान दिनुपर्ने अडानमा छन । नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले महासचिवमा पुराना र युवा पुस्ता दुवैको दावी आएको स्वीकार गर्नुभयो । सो पार्टीमा बिरोध खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्रीमध्ये एकलाई महासचिव बनाउनु पर्ने ठूलै जनमत रहेको छ । यस्तै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेलले पनि महासचिव दावी गर्नुभएको छ ।

बैठकले अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावलाई सुझावसहित पारित गरेको छ । नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बिहीवारको बैठकबाट महासचिव चुन्ने र कार्यविभाजन टुंगो लगाउने जानकारी दिनुभयो । ‘भोलिको बैठकमा हामी महासचिव चयन गर्ने छौं,’ बैठकबारे त्यसैगरि स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका सदस्यहरुको अन्तिम टुंगो लगाउने छौं,’ प्रवक्ता खतिवडाले भन्नुभयो ।