काठमाडौं, असोज ९ । प्रहरीले एउटा सार्वजनिक बसबाट दुई जना भारतीय नागरिकलाई ९५ लाख रुपैया नगदसहित पक्राउ गरेको छ। चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले नागढुंगाबाट सो रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शुक्रबार स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे छन्।
मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको एसएसपी सिंहले बताउनु भयो । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान सुरू गरेको छ। पक्राउ परेकालाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ । प्रहरीले बिगत ९ महिनायता काठमाडौंबाट साढै चार करोड बढी रकमसहित १७ जना हुण्डी कारोबारीलाई पक्राउ गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्