जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार ०७:४६

परराष्ट्रमन्त्री खड्काले बोले ‘झुट’ : जनता आक्रोशित


काठमाडौं, १५ असोज । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् ।

नेपालको १० वर्षे द्वन्द्वका क्रममा सरकारपक्ष र तत्कालीन माओवादीपक्षबाट गम्भीर मानव अधिकार हननका घटनाका दोषीलाई कारबाही नभइरहेको बेला परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघ महासभामा उभिएर पीडितको मुद्दा सम्बोधन हुने क्रममा रहेको बताउनुभएको थियो ।
ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर द्वन्द्वपीडितहरूले महासचिवलाई सम्बोधन गरिएको पत्र बुझाएका छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले आफूहरूले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवको नाममा ध्यानाकर्षणपत्र पठाएको जानकारी दिनुभयो । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोहीपक्षबाट भएको जघन्य अपराधका दोषीविरुद्ध कारबाही प्रक्रिया अगाडि नबढ्दा द्वन्द्वपीडित नागरिकले न्याय पाउन सकिरहेका छैनन् । तर, परराष्ट्रमन्त्री खड्काले महासभा बैठकमा उभिएर समस्या समाधान हुन लागेको भाषण गरेपछि पीडितहरू आक्रोशित बनेका हुन् । द्वन्द्वमा आफन्त गुमाएका र बेपत्ता पारिएका परिवारको पीडा दर्दनाक छ । उनीहरू छिटो न्यायको खोजीमा छन् ।

द्वन्द्वका क्रममा माओवादीले चन्दा नदिएकै आरोपमा लमजुङ दुराडाँडाका मानवअधिकारकर्मी तथा शिक्षक मुक्तिनाथ अधिकारीको वीभत्स हत्या गरेका थिए । उहाँका छोरा सुमन अधिकारी अहिले पनि न्यायका पर्खाइमा हुनुहुन्छ । उहाँले परराष्ट्रमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभा बैठकमा उभिएर गलत कुरा गर्दा आश्चर्य चकित भएको बताउनुभयो ।