जनता टाइम्स

१० असार २०७६, मंगलवार १८:१६

वाह ! धुलिखेलको त्यो दिन, अनि त्यो रात


हल्का गर्मी महसुस भएरहेको थियो । होटल परिसरमै सफा स्विमिङ पुल, स्विमिङ कस्टमको व्यवस्था कोठाको बेडमै । त्यसपछि त के चाहियो र ?

अञ्जु कार्की

दुई दशक अघिसम्म दिउँसो पनि एक्लै दुक्लै जान डर मान्नुपर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछाडिको फाँट यतिवेला पेप्सीकोला टाउन प्लानिङका रूपमा मनोहर बस्तीमा परिणत भएको छ । काठमाडौं महानगरपालिकाको पूर्वी सीमा मनोहारा नदीले बनाएको यो फाँटमा फल्ने अथाह तरकारी र खाद्यान्न अहिले दन्त्य कथाजस्तै बनेको छ । यतिवेला भव्य सहर बनेको यो मनोहर बस्तीमा १०–१५ वर्ष अघिसम्म फाट्ट फुट्ट घरहरू थिए । उपत्यकाका काँठ क्षेत्रजस्तै पातलो बस्ती भएकोले त्यतिवेला यहाँ गाउँको जस्तै वातावरण थियो । गाउँको जस्तै एक अर्काको ऐँचो पैँचो, सर सापट तथा सुखदुःखमा सहभागी हुने वातावरण थियो । हितैसी यो बातावरणले निरन्तरता पाओस भन्ने आम चाहना थियो ।

पछिल्लो समय बस्ती बढ्दै गएपछि पनि छरछिमेकी बीचको आत्मियताले निरन्तरता पाओस् भन्ने कुरामा हामीसचेत थियौँ । तर, देशका कुना काप्चाका अपरिचित नौला अनुहारहरू थपिँदै जाँदा यहाँको गाउँले वातावरण विस्तारै हराउँदै गयो । गाउँको जस्तो सरल जनजीवन यहाँ सम्भव थिएन पनि । दिउँसो सबै जना आ–आफ्नो काममा जाने बेलुका अबेर घर फर्कने र आफैँभित्र सीमित हुने सहरी दिनचर्याका कारण पुराना छरछिमेक भेटघाट गर्न पनि शनिबार नै पर्खनु पर्ने भयो । धन्न हरेक शनिबार विहान टोल सफाइ कार्यक्रमका लागि हरेक घरबाट एक–एक जना उपस्थिति हुने भएकाले ‘हाइ हेल्लो’ र सामान्य गफगाफ हुन्थ्यो । पुराना छिमेकीबीच चाडपर्व तथा सामाजिक कार्यमा एक अर्कालाई आमन्त्रण गर्ने परिपाटीलाई निरन्तरता दिइएको थियो । तर यस्ता जमघटमा देखा देख र सन्चो विसन्चो सोध्नेबाहेक सुख–दुःख साटासाट गर्ने र मन पेट खोलेर कुराकानी गर्ने मौका जुर्दैनथ्यो । त्यो पनि एक प्रकारकोले औपचारिकता जस्तै थियो ।

एउटै टोल बस्तीका एक डेढ वर्ष अघिदेखिका पुराना छिमेकीहरू पनि एक अर्काबीच विरानो हुँदै गएकोमा सबैको मनमा चस्स विझेको थियो । मनभित्रका पीडा तथा उकुसमुकुसलाई लुकाएर भेटघाट भएका वेला फिस्स कृत्रिम हाँसोका साथ सुकिला दाँत एक अर्कालाई देखाउनु नै हामी छिमेकीहरूको दिनचर्या बन्न थालेको थियो । यस्तैमा गत जेठको पहिलो शनिबार छिमेकी साथी पवित्रा पोखरेलले भनिन, ‘ए अञ्जु, हामी कति निसासिएर बस्ने हो ? यसो सहर बाहिर गएर रमाइलो पनि गरौँक न ।’ लामो समयदेखि हार्डवेयर व्यापारमा संलग्न पवित्रा हाम्रो टोलकी फरासली महिलाको रूपमा चिनिन्छिन् । मलाई पनि उनको विचार उचित लाग्यो । शुभकार्यमा ढिला किन भन्नै सम्झदै उनको प्रस्तावल स्वीकार गरेर भने, ‘कहाँ जाने ? कति दिनका लागि जाने ? कसरी जाने ? तुरून्त प्रोग्राम बनाई हाल त ।’ मैले एकै सासमा उनका प्रस्तावमा अनेक मौकाका प्रश्न सुनाए ।

उनले तुरून्तै सबै छिमेकीहरूलाई खबर गरिन । १०–१२ जना साथीजम्मा भयौँ । जो लामो समयदेखि गाउँकै जस्तो परिवेशमा रमाउने कोसिस गरिरहेका थियौँ, तर मौका भने जुरेको थिएन । उपत्यका बाहिरको कुनै पिकनिक स्पटमा बिहान गएर बेलुका फर्कने योजनाका साथ सरसल्लाह गरिरहेका थियौँ । छिमेकी दिदी सीता श्रेष्ठले, अली फरक प्रस्ताव ल्याउँदै भन्नुभयो, ‘पहिलो कुरा बिहान गएर बेलुका फर्कने हतारको पिकनिक नराखौँ, दोस्रो कुरा पिकनिकमा आफै खाना बनाउनेदेखि अन्य व्यवस्थापन आफैँ गर्नुपर्ने भएकोले रमाइलो गर्ने, एक आपसमा सुखदुःख बाँडेर अनुभव साटासाट गर्ने समय कम हुन्छ ।’

उहाँको प्रस्तावमा सबैको समर्थन जनाउँदै हो–हो भने । उसो भए त्यसको विकल्प के त ? मैले जिज्ञासा राख्न नपाउँदै सीता दिदीले फ्याट्ट भन्नुभयो, धुलिखेल जाउँ, होटल होराइजनमा बसौँ ।’ धुलिखेलको प्रख्यात होटल होराइजन सीता दिदीको आफ्नै हो भन्ने हामी सबैलाई थाह थियो । ठूलो रिसोर्टसहितको यो होटलमा राजधानी काठमाडौंका पाँच तारे होटल सरहको सुविधा छ भन्ने पनि हामी सबैलाई थाह थियो । सीता दिदीको यो प्रस्ताव सुनेपछि हामी मुखामुख गर्न थालेछौँ । सीता दिदीले हामी मुखामुख गर्नुको रहस्य बुझिहाल्नुभयो । अनि भन्नुभयो, ‘तपाइँहरू आत्तिनु पर्दैन, अन्यत्र पिकनिक जाँदा जती खर्च हुन्छ, त्यतिले धान्ने व्यवस्था म मिलाई हाल्छु, हाम्रो आफ्नै होटल त हो नि ।’ धुलिखेल आज जुन अवस्थामा छ, त्यो अवस्थामा पुर्याउने श्रेय निर्विवाद रूपमा समाजसेवी वेलप्रसाद श्रेष्ठलाई जान्छ । आँखामा राख्दा पनि नबिझाउने स्वभावका बेलप्रसादलाई धुलिखेलवासीले लगातार २५ वर्ष प्रधानपञ्च तथा मेयर बनाएका थिए । सीता दिदी उनका बुहारी हुन ।

जेठ महिनाको चौथो बुधबार बिहानको खानापछि हामी मनोहरबस्तीबाट धुलिखेलका लागि प्रस्थान गर्यौँ । एक दिन भए पनि एक आपसमा रमाइलो गर्न पाउने कुरनले दंग थियौँ । होटल होराइजनमा एक रात बिताएर भोलिपल्ट बेलुका फर्कने कार्यक्रम बनाएका थियौँ । राजधानी काठमाडौं सहरका महिलाहरू एकजुट भएर मनोरञ्जनात्मक अभियानका लागि बासबस्ने गरी उपत्याका बाहिर जाने कल्चर त्यति विकास भइसकेको छैन । यो मामिलामा अहिलेसम्म पुरूषहरूकै एकाधिकार छ भन्दा पनि हुन्छ ।

त्यसैले सबैको मनमा एक किसिमको खुल्दुली थियो । सँगसँगै उमंग पनि थियो । के होला ? कस्तो होला ? कसरी बित्ला एक दिन र रात भन्ने लागिरहेको थियो । सुरूवातमै शुभलक्षण भने झैं हामीले रिजर्भ गरेको माइक्रोबसका चालक यति फरासिला र व्यवहारिक परेछन् कि २० किलोमिटरको यो यात्रा आँखा झिमिक्क नगरी सकिएजस्तो भयो । दिउँसो १२ बजे हाम्रो गाडी होटल होराइजनको पार्किङस्थलमा रोकियो । हामी ओर्लना साथ सीता दिदी गर्लम्म आँगालो हाल्न आइपुग्नु भयो । लामो समयपछि घरमा गएकी छोरीले आमाको आँगालोलाई जस्तो अनुभव गर्छे, त्यस्तै अनुभव हामीलाई भयो । अझ मैले त छोरालाई पनि साथै लिएर गएकी थिएँ । १० वर्षको छोरा अधिराजले त मामाघरको आँगनमा पाइला टेकेको भन्दा पनि रमाइलो अनुभव गरेको उसको हाउभाउले देखाउँथ्यो ।

लामो समयदेखि एउटै टोलमा बसेको भए पनि, लगभग समान उमेरका भए पनि हामी दशै जना अलग अलग पृष्ठभूमी तथा पेशाका थियौँ । कोही विभिन्न देशहरू घुमेर अनुभव बटुलिसकेका थिए भने कोही आफ्नो घर र कार्यालय बाहेक राजधानी काठमाडौं बाहिरसमेत खासै जान नपाएकाहरू पनि थिए । तर, सोच भने मिल्दो जुल्दो थियो । यही सोचले नै हामीलाई यस्तो अवसर जुराएको थियो । साथीहरू सबिना उप्रेती, पवित्रा पोखरेल, सीता निरौला, रन्जु सुवेदी, अनिशा श्रेष्ठ व्यापार व्यवसायमा जमेका छन् । राधा पाठक र अप्सरा निरौला सहकारी क्षेत्रमा जमेका छन् । सरू बस्नेत लामो समयदेखि मेडिकल फिल्डम स्थापित छिन् । इन्दिरा थापाले पढेलेखेकी सुसंस्कृत महिलाका रूपमा छरछिमेकमा आफूलाई स्थापित गरेकी छिन् । सीता दिदीको कुरै भएन ।

होटलका ढुंगाना दाईले अलग–अलग कोठाको चाभी हातमा थम्याएपछि हामीले फेरी मुखामुख गर्न पुग्यौँ । हामीले अलग अलग कोठमा सुत्ने सोचका थिएनौँ । सबैजना मिलेर एउटै हलमा बस्ने, सिरक डसना नपुगे म्याटरेस ओछ्याउने सल्लाह माइक्रोबसभित्रै गरिसकेका थियौँ । सीता दिदीले कुरा बुझिहाल्नु भयो । उहाँले भन्नुभयो, ‘तपाईंहरू चिन्ता नलिनु, राती सुत्नका लागि मात्रै हो, अलग–अलग कोठा, बेलुका अबेरसम्म बसेर मनोरञ्जन गर्नका लागि छुट्टै हलको व्यवस्था गरेकी छु ।’

आ–आफ्ना चाबी लिएर हाते ब्याग थन्क्याउन कोठाभित्र गयौँ । कोठामा त सीता दिदीले हल्का वान पिस लुगा तथा स्वीमिङ कस्टमको समेत व्यवस्था गर्नु भएको रहेछ । यसै त जेठ महीना, त्यसमा पनि मध्यान्ह १२ बजिसकेको थियो । हुन त धुलिखेल निरन्तर हिमालको चिसो हावा ठोकिन आइपुग्ने शितल ठाउँ हो । तर, हल्का गर्मी महसुस भएरहेको थियो । होटल परिसरमै सफा स्विमिङ पुल, स्विमिङ कस्टमको व्यवस्था कोठाको बेडमै । त्यसपछि त के चाहियो र ? कति वेला पोखरीमा हाम फालौँजस्तो भएछ साथीहरूलाई ।

म अलि मोटी, विगत १० महिनादेखि क्लवमा गएर एक्सरसाइज गरिरहेकी छु तर २० को १९ हुन सकिरहेकी छैन । विराटनगरमा हुँदा माछोजस्तै पौडिन्थेँ, यहाँ त पोखरीमा छिर्ने हिम्मतसमेत आएन । अरू साथीहरू पौडन थालेपछि म पनि राधा पाठकको सहयोगमा स्विमिङ कस्टम लगाएर पोखरीमा प्रवेश गरेँ । लामो ग्याप भएकोले पौडन नजानेर पानीमा डुब्छुकी जस्तो लागेको थियो । तर अचम्म, सुरूमै पौडेर पोखरी वारपार गरेँ । एकपटक सिकेका सीपहरू अभ्यासमा नआए पछि विर्सँदै गए पनि पौडने सीप यस्तो हुँदो रहेछ कि, हात गोडाले स्वचालित मिसिन जस्तै काम गर्न थाल्ने रहेछन् । पौडिपोखरीमा छिर्ने बित्तिकै मेरा हात गोडाले स्वचालित मेसिनझैं काम गर्न थाले ।

८५ केजीको मेरो शरीरले माछाजस्तै पोखरीको वारपार बागटे हान्न थाल्यो । सीता दिदीले पनि १६ वर्षअघि अमेरिकामा स्वीमीङ सिक्नुभएको रहेछ, त्यसपछि अभ्यास गर्ने मौका खासै जुरेको रहेनछ । उहाँले पनि मज्जाले पौडनुभयो । पुरूषको उपस्थिति त्यहाँ नभएकोले स्विमीङ कस्टम लगाएका हामी एक आपसमा धक फुकाएर जिस्किँदै सबैका हातमा रहेका मोबाइल टेलिफोनका क्यामराले क्लिक–क्लिक गर्न थाल्यौँ । जेठको मध्यदिनमा खाँदै, पिउँदै, पौडी खेल्दै गरिएको मनोरञ्जनको सीमा नै रहेन ।

पौडी खेल्दा शरीरका सबै अंगहरू उत्तिकै सक्रिय हुने भएकोले थकाई लाग्छ । पोखरीमा रहुन्जेल थकाई महसुस हुँदैन । बाहिर निस्केपछि भने शरीरले थाह पाउँछ, आँफू कति थाकेको छु भन्ने कुरा । हामी थकित शरीर लिएर हलमा गयौँ । सीता दिदीका छोरा क्षितिजले नाचुँ नाचुँ लाग्ने गीत तथा म्युजिकको म्यानेज गरिसकेका रहेछन् । हाम्रो टीमका कुनै पनि साथीले नृत्य सिकेका थिएनन् । तर, गीत तथा म्युजिकले नै नृत्यका लागि सबैलाई अभिप्रेरित गर्यो । चिया, खाजा खाँदै रमाएर नृत्य गर्यौँ । साँझ पर्नै लाग्यो ।

पुरूषको उपस्थिति त्यहाँ नभएकोले स्विमीङ कस्टम लगाएका हामी एक आपसमा धक फुकाएर जिस्किँदै सबैका हातमा रहेका मोबाइल टेलिफोनका क्यामराले क्लिक–क्लिक गर्न थाल्यौँ । जेठको मध्यदिनमा खाँदै, पिउँदै, पौडी खेल्दै गरिएको मनोरञ्जनको सीमा नै रहेन

त्यसपछि हामी प्राकृतिको हरियालीसँग रमाउन छोटो दुरीको हाइकिङमा निस्कियौँ । थाकेको शरीर, तराईमा हुर्केकी मलाई उकाली ओराली गर्न मुस्किलै भयो । तर, उत्तरतर्फ सर्लक हिमाली दृश्य अस्ताउँदो घामको ज्योतिले हिमाललाई सुनजस्तै टल्काएको थियो । तराइमा जन्मे हुर्केकी मलाई त्यहाँको सुन्दर र दुर्लभ दृश्यले मोहनी लगाइरहेको थियो । पश्चिमतर्फ हरियालीबीचको धुलखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालय भवन तथा तरेली परेको सुन्दर फाँटले त्यसरी नै लोभ्याइरहेको थियो । रमणीय दृश्यमा मोहित भएका हामीलाई झमक्क साँझ नपर्दासम्म फर्कन मनले मानेन । फर्केपछि फेरी सुरू भयो बाहिर चौरमै नाचगान । अनि लाग्यौँ डिनरतिर ।

शरीरले भनिरहेको थियो, कतिबेला कोठामा गएर सुतौँ । यता मनले भनिरहेको थियो, यस्तो मौका फेरी कहिले आउने हो ? थाह छैन अञ्जु, भरपुर मज्जा लिई । शरीरलाई मनले जित्यो । एउटै कोठामा बसेर धेरैबेर गफ गर्यौं । गाउँको परिवेश तर, सहरको सुविधा भएको धुलिखेलको त्यो कोठामा साथीहरूबीच महिला अधिकारका कुरा भए, देश बनाउने राजनीतिक कुराहरू पनि भए, राजनीतिमा देखिएका गलत संस्कार पनि उठाउन भ्याए कसैले ।

विदेशका ठूला सहरमा राम्रा होटलमा वास बस्न पुग्दा नेपालका दूरदराजमा बसेका ग्रामीण महिलाहरूको जे हालत हुन्छ, राजधानी काठमाडौंमा बसेका गृहिणीहरूको पनि त्यही हालत हुने घतलाग्दो कथा विदेश घुमेका साथीहरूले सुनाए । रञ्जुले अमेरिकाको बयान गरिन । पवित्राले युरोपको बयान गरिन । राधाले डबल डेकोर विमान चढेर युरोप यात्रामा जाँदाको अनुभव सुनाइन । विदेश त परै जाओस् स्वदेशमा पनि खासै नघुमेकी म उनीहरूको कुरा ट्वाँ परेर सुनिरहेँ । राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा कुरा भए । सविना उप्रेतीको नाच उत्तिकै राम्रो थियो, उनले विदेश भ्रमणको अनुभव सुनाउँदा हामी एकाग्रह भएर सुनेका थियौं । अन्तिममा सीता निरौलाले भनिन, ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेर हाम्रो शास्त्रले भनेकै छ, त्यसैले हरेक व्यक्तिका आ–आफ्ना खुवी हुन्छन, कमजोरी पनि आ–आफ्नै हुन्छन् यसलाई स्वभाविक रूपमा लिने कोशिस गर्नुपर्छ ।

त्यति धेरै मनोरञ्जन लिन भ्याएको हाम्रो शरीर कति थाकेको रहेछ भन्ने कुरा घर फर्केपछिका लगातार दुई रातसम्म मरे तुल्य निन्द्रापछि मात्रै थाह भयो । तर, त्यो धुलिखेलको बसाइ, पिकनिक र मनोरञ्जन अनि त्यस्तो अवसर फेरि पाउन कठिन र बिर्सन निकै कठिन छ

बच्चा उमेरमा मन जति खुसी र रमाइलो हुन्थ्यो त्यस्तै महसुस गर्दै राती १२ बजे आ–आफ्नो कोठामा गयौँ । तर, शरीर बढी थाकेपछि पनि निन्द्रा हतपत आउँदो रहेनछ । अनेक कुराहरू मनमा खेलिरहे । दिउँसोका घटनाहरू सबै रिलझैँ मष्तिस्कमा घुमिरहे । बिहान पाँच बजे उठेर घुम्न निस्क्यौँ । धुलिखेलको सुन्दरतामध्ये सूर्योदय पनि एक हो । सूर्योदयको आनन्द लिन छुटाउने कुरै भएन । धेरै फोटोहरू खिच्यौँ । नजिकै रहेको संस्कृत गुरुकुल पुग्यौँ । एक घण्टा दूरीमा रहेको स्थानीय गोसाइंकुण्ड पुग्यौँ । ब्रेकफास्टपछि सीता दिदीले छोरीलाई घर पठाएजस्तो मायालु आँखाले बिदाइ गर्नुभयो । वा त्यो धुलिखेलको पिकनिक र सीता दिदीको व्यवस्थापन कसरी भुल्न सकिन्छ ।

त्यति धेरै मनोरञ्जन लिन भ्याएको हाम्रो शरीर कति थाकेको रहेछ भन्ने कुरा घर फर्केपछिका लगातार दुई रातसम्म मरे तुल्य निन्द्रापछि मात्रै थाह भयो । तर, त्यो धुलिखेलको बसाइ, पिकनिक र मनोरञ्जन अनि त्यस्तो अवसर फेरि पाउन कठिन र बिर्सन निकै कठिन छ ।