जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार २०:२६

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन


काठमाडौं, कात्तिक २५ ।  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ ।

विरोध कार्यक्रममा संक्षिप्त बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसि लामिछानेले मुल्यवृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले १२ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – ‘हिजो मात्रै जसरी जनतामारा निर्णय गरेको छ । यो पछिल्लो समय भएको मुल्यवृद्धि अविलम्ब फिर्ता लिनको लागि म अनेरास्ववियुको तर्फबाट सरकारलाई अल्टिमेटम दिन चाहान्छु, यो मुल्यवृद्धि १२ घण्टाभित्र फिर्ता भएन भने हामीले काउनडाउन गरेर यो सरकारकै बर्हिगमनको लागि आन्दोलन गर्नेछौँ । र सरकारको समेत दिनगन्ती सुरु हुनेछ ।’

बिरोध कार्यक्रममा परमादेशी सरकार राजिनामा दे, नाफाघाटा जान्दैनौँ मुल्यवृद्धि मान्दैनौँ लगायतको नाराबाजी समेत गरिएको थियो । नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मुल्यवृद्धि गरेको थियो ।