जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार १६:५५

फूल खेती गरी नयाँ पुस्ताका लागि उदाहरण बन्नुभएको छ – रूपा बस्नेत (फोटोफिचर)


काठमाडौं, ३ मंसिर । सूर्यविनायक नगरपालिका–७ गुण्डुका महिला फूलखेतीबाट आत्मनिर्भर भएका छन् । त्यस भेगका हरेक घरका महिलाको आम्दानीको मुख्य स्रोत मखमली र सयपत्री फूल खेती हो । विगत २० वर्षदेखि यस क्षेत्रमा नगदे बालीका रूपमा फूल खेती हुँदै आएका छन् । विशेषगरी तिहारका लागि हरेक घरका किसानले आधा रोपनीदेखि आवश्यकताका आधारमा फूल खेती गर्दै आएका थिए भने हाल व्यवसायिक खेतीमासमेत यहाँका महिला लागेका छन् ।

कृषि विषयकै अध्ययनगरी सात रोपनी जग्गामा फूल खेती गरी नयाँ पुस्ताका लागि उदाहरण बन्नुभएको छ–रूपा बस्नेत । उहाँले फूल खेतीबारे नै अध्ययन गरी जग्गा भाडामा लिएर टनेलमा फूल खेती गरिरहनुभएको छ । उहाँले तीनदेखि सात लाखसम्म वार्षिक रूपमा आम्दानी गर्दै आउनुभएको बताउनुभयो । राजधानीका ठूला विक्रेताले यत्तिबेला गुण्डु पुगेर माला ल्याउने गरेका छन् । विशेषगरी असारदेखि नै मखमली फूल टिप्न सुरू हुन्छ ।

फूलको आम्दानीले यहाँका महिलाले समूहमा बचत गर्नेदेखि सुनका गहना र चाँदीका भाँडासमेत जोड्ने गरेको पवित्रा बस्नेतले बताउनुभयो । आफ्नो जग्गामा सिप र जाँगर लगाएर गरेको आम्दानी आफ्नो खुसीले ढुक्कले चलाउन पाउँदा हर्ष लाग्ने पवित्राको भनाई छ । स्थानीय साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अम्बिका भण्डारीले यस क्षेत्रका महिला किसान तथा व्यवसायीलाई फूल खेतीमा लाग्न सहयोग र हौसला दिने लक्ष्यले विगत दुई वर्षदेखि सयपत्री फूलको वेर्नामा अनुदानसमेत दिंदै आएको बताउनुभयो ।

यहाँका महिलाले प्रति घर १५ हजारदेखि ५५ हजारसम्म फूल विक्रीबाट आम्दानी गर्दै आएका छन् । व्यवसायीक रूपमा खेती गर्नेले लाखौंको आम्दानी गाउँ भित्र्याइरहेका छन् । फुलको आयात विस्थापन गर्न महिलालाई व्यवसायिक खेतीका लागि तालिम, आर्थिक अनुदानसहित प्रोत्साहित गर्नुपर्ने उहाँहरूको माग छ ।

हेरौं तस्विरहरु :

तस्विर : कविता थापा