जनता टाइम्स

६ पुष २०७८, मंगलवार ०८:५९

आज प्रतिनिधि सभाको बैठक बस्दै : अवरोध खुलाउन भएन सहमति



काठमाडौं, पुस ६ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे बस्नेछ ।बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । गएको मङ्गलवार बसेको बैठक एमालेको अवरोधका कारण आज बस्ने गरी स्थगित भएको थियो ।एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ । यसअघिको अधिवेशनमा पनि एमालेले अवरोध गरेको थियो । संसद्को अवरोध खुलाउन सत्तागठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ । तर अहिलेसम्म सहमति जुटेको छैन ।प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति सर्वदलीय बैठकमा संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल एमालेलाई आह्वान गर्नुभएको थियो । तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन।