जनता टाइम्स

७ पुष २०७८, बुधबार ०९:३३

डा.पीताम्बर शर्मालाई खुला चुनौती : यो तथ्यलाई तपाईंको झुटले ढाक्न सकिन्छ र ?



अझ माक्र्सवादले मानव सभ्यताका सबै सकार स्वीकार गर्ने मात्र होइन, त्यसलाई समृद्ध बनाउने स्पष्ट निर्देश गरेको देखी देखी हर कुरालाई उसको र त्यसको भनेर छोइछिटो गर्नु जस्तो लज्जाजनक कुरा केही हुँदैन । यस विषयमा शर्मा आफैले नै एक अन्तर्वार्तामा अज्ञानी भनिएका केपी शर्मा ओलीसित संवाद गरे धेरै ज्ञान हासिल हुनेछ । नजानेको विषय जान्दिन भन्दा उचाइ घट्दैन

प्राडा.बद्रीविशाल पोखरेल

डा.महेश मास्केले यही पुस ३ गते प्रा.डा. पीताम्बर शर्मासित लिएको अन्तर्वार्ता एक अनलाइन पत्रिकामा निक्कै महत्वका साथ प्रकाशित भएको छ । उक्त अन्तर्वार्तामा शर्माका अद्वन्द्ववादी वा गैरमाक्र्सवादी दृष्टिकोणहरु पनि पाइन्छन । रुपमा माक्र्सवाद पक्षीय देखिने तर सारमा माक्र्सवादप्रति मसिनो रुपमा वितृष्णा जगाउने खालको असन्तुलित विचार पढेपछि प्रतिक्रिया स्वरुप आम पाठकका बीच छलफलका लागि यो फिरादपत्र प्रस्तुत गरिएको छ । वरिष्ठ भूगोलविद् तथा योजनाविद्का रुपमा चिनिएका शर्माले विशेषतः रामधाम र रथयात्रा वा पुराण वाचनका विषयलाई होलसेलमा उल्लेख गर्दै सरासर अद्वन्द्ववादी तथा सतही विचार व्यक्त गरेका छन ।

माक्र्स, लेनिन र माओका धर्म सम्बन्धी द्वन्द्ववादी धारणाका ठीकविपरीत शर्माले बालेका छन् । अझ उनले यही विषय उछालेर एमाले पार्टीलाई भारतीय हिन्दूवादी दल विशेषको समर्थक भन्दै कटाक्ष गरेका छन । तथ्ययुक्त र तर्कयुक्त आलोचना त यही लेखक पनि गर्छ तर सिद्धान्त र विचार मन परेन भनेर कुनै पनि पार्टी र नेतालाई तथानाम भन्न यस लेखकलाई उति जाती लाग्दैन । यतिमा मात्र सीमित नभई जननेता मदन भण्डारीका अगुवाइमा प्रतिपादित जबजका कतिपय विषयमा शर्माका अत्यन्त आग्रही र मनगढन्ते विचार पढेपछि अलिकति समय उभारेर लेख्नै पर्ने लागेको हो ।

हुन त शर्माले नेपालको बामपन्थी आन्दोलनको सिलसिलेवार अध्ययन त आफूले नगरेको भनेर आफ्नो ज्ञानको सीमा पहिले नै उल्लेख गरेको हुँदा उहाँले व्यक्त गरेका सबै विचार र धारणालाई उति महत्व नदिए पनि हुनेथियो तर उहाँ जत्तिका विद्वान्ले भनेका कुराबाट कतिपय पाठक भ्रमित हुने देखेर पनि यहाँ संक्षिप्त चर्चा गर्न आवश्यक परेको हो । एउटा विज्ञले आफ्ना सतही नै विषय र विचारलाई बजारीकरण गरेर आम पाठकलाई भ्रमित पार्न खोजेपछि त्यसको समयमै तर्क संगत प्रतिवाद नगर्दा भ्रमको पुलिन्दा नै तयार हुने खतरा हुन्छ । यति बुझ्ने बाम बुद्धिजीवी पनि हुँदा हुन तर तिनको नाम नामेसी भने त्यति थाहा पाइएको छैन ।

शर्माले आफ्नो माक्र्सवादी ज्ञानको सीमा क्षेत्र नै स्वीकार गरेको हुँदा इतिहास, भूगोल लगायत विषय विशिष्ट गहिरो ज्ञान भए पनि अरु कतिपय विषय काँचै रहन सक्छ भन्ने स्वतः बुझिन्छ । कि त कार्लमाक्र्सले झैँ ज्ञान गङ्गामा डुबुल्की लगाउनु पर्यो, तैपनि वैदिक सनातन वा हिन्दू धर्म संस्कृति र संस्कार विषय माक्सलाई नै अध्ययन गर्ने अनुकूल नभएको देखिन्छ । त्यसैले हत्तपत्त ज्ञानको गहिराईमा नपुगी बोल्दा शर्मा आफैँ विषयगत अन्यौलको भुँमरीमा परेको देखियो । शर्माले पुराणका बारेका सोलोडोलो नकार उल्लेख गरेर पुराणहरुमा अन्तर्निहित अनेकौँ समाज र जीवनोपयोगी पक्षहरुप्रति घोर अन्याय गरेको स्पष्ट हुन्छ । यही लेखक पनि शर्माजस्तै धर्म, संस्कृति र संस्कारका बारेमा लामो समय बाम उग्रवादी अतिवादबाट ग्रस्त भएको एउटा प्राणी हो तर १८ पुराण गहन रुपमा पढ्दा यो लेखक आफैँ छाँगाबाट खस्यो । कम्युनिष्ट उग्रवाद कतिसम्म हानिकारक रहेछ भन्ने आफैँले महसुस गरियो । जब कि माक्र्सवाद नै उपर्युक्त खालका सबै अतिवाद र अन्धवाद विरोधी दर्शन हो ।

सार संक्षेपमा भन्दा पुराणहरु विविध विषय, क्षेत्र र विधाको ज्ञानकोश हो । तर तिनका नकार पक्षहरु पनि छन् । सकार नकार सँगसँगै हुन्छन् नि । नारद पुराणमा व्याकरण, निरुक्त, ज्योतिष, छन्द, आदि शास्त्रहरुको चर्चा गरिएको छ । अग्नि पुराणलाई भारतीय विद्याहरुको विश्वकोश भन्न मानिन्छ । यस पुराणमा ज्योतिष शास्त्र, धर्म शास्त्र, ब्रत, राजनीति, आयुर्वेद, छन्द शास्त्रको निरूपण गरिएको छ र यसैमा अलङ्कार शास्त्रको विवेचन, योगशास्त्रको यम र नियम आदि आठ अङ्गको वर्णन गरिएको छ । वेदान्त सिद्धान्तको सार सङ्कलन, मन्दिर निर्माणको कला आदि विषय पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।

बराह पुराणमा मथुराका समग्र तीर्थको वर्णन छ । स्कन्द पुराणमा काशी महिमा, सत्यनारायण कथाको वर्णन छ । मत्स्य पुराणमा भृगु, अङ्गिरा, अत्रि, विश्वामित्र, कश्यप, वशिष्ठ, पराशर, अगस्त्य ऋषिहरुको वंश वर्णन तथा ,साम, दाम, दण्ड, भेद, राजधर्म, राजाले शत्रुसित लड्दा ध्यान दिनु पर्ने कुरा लगायतको वर्णन छ । ब्रम्हाण्ड पुराणमा विश्वको भूगोलको विस्तृत तथा रोचक वर्णन छ । यसमा सवै वर्ष र द्वीपहरुको वर्णन छ । यसमा ग्रह, नक्षत्र तथा युगहरुको विशेष विवरण दिइएको छ । ब्रम्ह पुराणमा सूर्य वंश र चन्द्र वंशको वर्णन छ, यसैमा सांख्य योगको सविस्तार दश अध्यायमा वर्णन गरिएको छ । वायु पुराणमा अन्य द्वीपका साथ जम्बु द्वीपको विशेष वर्णन छ र यसमा खगोलको वर्णन, श्राद्ध र संगीतको विशद् वर्णन पनि गरिएको छ । यद्यपि पुराणमा प्राचीन राजाहरुको पनि वर्णन पनि गरिएको छ ।

धर्म र संस्कृति भन्ने बित्तिकै सोलोडोलो सराप्नै पर्छ र ? माक्र्सवादीले सबै विषय वस्तुका सकार नकार छुट्याएर हेर्नुपर्दैन र ? सर्वे भवन्तु सुखिनः (अर्थात सबै सुखी होउन), बसुधैव कुटुम्वकम, (यो जगत बन्धुबान्धवको हो) परोपकार र पुण्याय पापाय परपीठनम, आत्मवत् सर्व भूतेषु (अर्थात सबै प्राणीहरुलाई आफ्नै आत्मा सरह मान वा ठान), द्यौ शान्ति पृथिवी शान्ति… आदि अनेक विश्व कल्याणका अनमोल सन्देशहरु खराव, आलोच्य र घृणा गरिने विषय हुन ? तर कतिपय पुराणमा मानव समाजलाई गलत, अन्ध र पाखण्डतिर उन्मुख गराउने पक्षहरु पनि छन् । ती सबै आलोच्य र त्याज्य छन तर खसी बाख्री एउटै धोक्री गरेर स्याउको दानामा अलिकति दाग लाग्यो भनेर सिङ्गै स्याउको दाना फ्याल्न मिल्छ कमरेड ! अन्तर्वार्ताकार वरिष्ठ बौद्धिक तथा क्रान्तिकारी डा. महेश मास्केले पनि विषयको गहन ज्ञानसहित अन्तर्यमा पुगेर वार्ताकारबाट सत्य प्रवाह गराउन सक्नुपर्छ । सतही वार्ताका छिनभरमैँ पानीको फोका सरह फुट्छ अहिले फुटिहाल्यो ।

वैदिक सनातन वा हिन्दू संस्कृतिभित्र महाजनको उदात्त आदर्श चिन्तन र चरित्र स्पष्ट पारिएको छ । मनस्येकम् वचस्येकम् कर्मण्येकम् महाजनः (अर्थात महान मानिस दोधारे, दुइजिब्रे, कुरा एउटा, काम अर्को गर्ने खालको हुँदैन) । यस्ता उपदेश र कर्म संसारको कुन धर्म र संस्कृतिमा पाइन्छ शर्माजी । उपर्युक्त जगत र जनसेवी विचार र आदर्श कम्युनिस्टले अनुशरण गर्नु अपराध हुन्छ ? कि संस्कृतमा लेखिएको र उपल्ला तहका भनिएका ब्राह्मण वा ऋषिमुनिले भनेको भनेर त्याग्ने अनि फिरङ्गीका सबै जडौरी भिरेर हिड्ने ? साम्राज्य कायम गर्ने र विश्व मानवतावाद स्थापना र विकास गर्ने धर्म र संस्कृतिमा कुनै अन्तर देखिएन शर्माजी ? मानव समाजलाई सभ्य र भव्य बनाउने मन, वचन, कर्म वैदिक सनातन संस्कृतिमा पाइन्छ । यस लेखमा धेरै बेलिविस्तार लगाउन सकिन्न तर शर्माजीले र वार्ताकार मास्केले धर्म, देवी देउता, आत्मा र परमात्मा आदिका बारेमा अध्ययन गर्नैपर्ने यस लेखकले देख्यो ।

कान नछामी कागका पछि दौडिनु भएन । शिवराम आप्टेको संस्कृत हिन्दी शब्दकोशमा आत्माको शाब्दिक अर्थ जीव, शरीर र देह भनिएको छ । उहिल्यै पुर्खाले परमात्मा भनेको वा भगवान्को आत्मा हो अनि अरु प्राणीको आत्मा चाहिँ उनै भगवानको आत्माको अंश हो भनेर अझै बहकिने । समाज वदल्नु भन्दा पहिले आफैँलाई बदल्नु प¥यो । यसका लागि माक्र्सले ज्ञान, चेतना, चिन्तन, विचार र भाष्य सबैलाई सुल्ट्याउनु पर्यो । माक्र्सवाद पढ्यो तर माक्र्सवाद चाहिँ कहिल्यै बुझेन । सिर्जनात्मक ज्ञान हुनुपर्यो ।

शर्माले राम, रामनाम, रामधामका विषयलाई उछालेर आम जनतालाई भ्रूमित पार्ने नियत राखेको देखियो । २५ सय वर्ष अघिका सिद्धार्थ गौतम बुद्ध भगवान् भएको कुरा त जगजाहेर छ । ज्ञान र अनुसन्धानको सीमाभित्र रहेकाले र राख्न सकिएकाले यस विषयमा खोज अनुसान्धन बेलैमा हुँदा भगवान मानिएका मात्र होइन, विष्णु भगवान्का ११ औँ अवतार समेत भनिएका बुद्ध मानव हुन भन्ने प्रमाणित भयो । अबोधगम्य मानिएको संसार अनुसन्धान र खोजबाट बोधगम्य हुनसक्यो । आफ्नो अध्ययन, ज्ञान र अनुसन्धानभन्दा पर रहेको सबै विषयका बारेमा सतही कुरा भन्न मिल्छ शर्माले नगरेको र नभ्याएको र नसकेको खोज उनका शिष्यले गर्छन नि । नवीन खोजको ढोका किन ढप्क्याउन खोजेको हो । किन यति हतारोमा राम, कृष्ण, व्रम्हा, विष्णु र शिव, पार्वती युमा, सुम्निमाको नाम लिँदा कोकोहालो ? के ती सबै किम्बदन्ती, कथा र किस्सा मात्र हुन् ? राम र रावण युद्ध परिकल्पना हो ? सबै उडन्ते गफ हुन ? उपयुक्त सबै नामनामेसी मानवका पुर्खा हुन । जसले देश र दुनियाँलाई बढीभन्दा बढी दिन्छ, त्यसलाई देवता भनिएको पाइन्छ ।

ईश वा ईश्वरको अर्थ शक्तिशाली, प्रतापी र पुरुषार्थी हो । आदि मानवले प्राकृतिक र दैवी विपत्तिका पछाडि कुनै न कुनै अदृश्य अलौकिक शक्तिशाली ईश्वर, ईश र प्रतापीको शक्तिको कल्पना गर्यो । पछि समाज विकासका क्रममा केही स्वामी, सामन्ती र शोषक प्रकृतिका मानिसले मानिसलाई नै दलमल गर्न थाले । वीरभोग्या बसुन्धरा (वीर र शक्तिशालीले नै यस धर्तीमा सुखभोग गर्ने हो लुते ल्याङ्ग्रे र शोषित पीडित ले होइन) भन्ने उक्रि नै प्रचलित भयो । अनि समाजका तिनै मुट्ठीभर दलाहा, चुसाहा र शोषक नै समाजमा प्रभावी भए, शाषक, ईश र ईश्वर कहलिए । अनि दासहरुको असाध्य चर्को विरोध र विद्रोहलाई साम्य पार्न बठ्याईपूर्वक धर्म ग्रन्थहरुमा भाग्यवाद, पुर्पुरोवाद, चरम रुढीवाद कलात्मक रुपमा घुसाएर सामन्तहरुले आफैँले आफैँलाई देवता घोषणा गर्न लगाएका हुन । यत्ति सामान्य कुरा पनि बुझ्न नखोजेर र नचाहेर भौँतिरिन माक्र्सवादी विद्वान् र बुद्धिजीवीलाई किमार्थ सुहाउँदैन र पटक्कै सुहाएन । गाली नै गर्नका लागि अरुअरु विषय पर्याप्त होलान ।

जबजका १४ विशेषता बहुदलीय प्रजातन्त्रकाकै विशेषता हुन भन्ने डा. पीताम्बर शर्मालाई माक्र्सवाद कार्लमाक्र्सको नितान्त मौलिक हो र भन्ने प्रश्न नै काफी होला । फायरवाख र हेगेलका सिद्धान्तमा घोत्लिएर माक्र्सले त्यसमा नवीनता वा वैज्ञानिकता दिएको होइन ? सबै वाद, विचार र दर्शन यही धर्ती र धरातलको हो । कसैले पनि जन्मिँदै आमाका गर्भबाट ल्याएको कुरा होइन । हावा सझा हो, धर्ती साझा हो, मानव सभ्यतामा मानव पुर्खाहरुले आर्जेको कुरा कसै र कुनै गुट विशेषको पेवा होइन, हुँदैन ।

अझ माक्र्सवादले मानव सभ्यताका सबै सकार स्वीकार गर्ने मात्र होइन, त्यसलाई समृद्ध बनाउने स्पष्ट निर्देश गरेको देखी देखी हर कुरालाई उसको र त्यसको भनेर छोइछिटो गर्नु जस्तो लज्जाजनक कुरा केही हुँदैन । यस विषयमा शर्मा आफैले नै एक अन्तर्वार्तामा अज्ञानी भनिएका केपी शर्मा ओलीसित संवाद गरे धेरै ज्ञान हासिल हुनेछ । नजानेको विषय जान्दिन भन्दा उचाइ घट्दैन । अब जबजका बारेमा शर्माले व्यक्त गरेका अमाक्र्सवादी र अत्यन्त सतही विचार विश्लेषण गर्न एमाले पार्टीका हजारौँ संख्याका होनहार वरिष्ठ बौद्धिक र वैचारिक नेता, नेतृ र बुद्धिजीवीहरुको जिम्मा दिनु उचित होला ।