काठमाडौँ, पुस १२ । सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उहाँहरु। माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो। पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो।
दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे। चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन। फलतः आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रका निर्विकल्प नायक देखिनुभयो , प्रचण्ड। उहाँको वरिपरि न वैद्य हुनुहुन्थ्यो, न त डा. भट्टराई नै। नेत्रविक्रम चन्द (विप्लव) झन् टाँसिएर रहने कुरै भएन। २०५२ सालमा सशस्त्र आन्दोलनमा सँगै होमिनुभएका र युद्धमा सैन्य कमान्ड गर्नुभएका रामबहादुर थापा (बादल) पनि साथमा रहनुभएन । उसकालका सहयोद्धा टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पनि अन्यत्रै गइसक्नुभएको छ ।
२०६५ मा पार्टी एकताबाट आएका नारायणकाजी श्रेष्ठ मात्र दाहाल छेउको सोफामा बस्नुभएको थियो । ‘प्रचण्डलाई पैसा, पद र परिवार बाहेक अरू केही नचाहिने भएपछि इमान्दार नेताहरू सबैले छोड्दै गएका हुन्,’ रायमाझीले भन्नुभयो ,‘ विचार, सिद्धान्त, आन्दोलन केही नभएपछि त्यहाँ बस्नुको औचित्य देखिएन।’ विगतमा कुनै बेला वैद्य त कुनै बेला डा. भट्टराई नेतृत्व परिवर्तनका सबाल उठाउँथे।
उहाँहरूले दाहालबाट नेतृत्व भने कहिल्यै उम्काउन सक्नुभएन । पछि दाहाललाई चुनौती दिने नेताका रूपमा नेत्रविक्रम चन्द विप्लवलाई हेरिन्थ्यो। उहाँपनि पनि वैद्यसँगै पार्टी विभाजन गरेर छुट्टै पार्टी गठन गर्नुभयो। आठौं राष्ट्रिय महाधिवेशनमा दाहालले नेतृत्वका लागि कसैसँग चुनौतीको सामना नै गर्नु नपर्ने निश्चित छ।













प्रतिक्रिया दिनुहोस्