३० पुस २०७८, शुक्रबार ००:००

आफ्नै मेहनतले युवाका आइडल बनेका प्रेमप्रकाश, जो बार्षिक तीनदेखि पाँच लाखसम्म गर्छन आम्दानी


जितेन्द्र थापा/सुर्खेत । कालीकोटको खाडाचक्र नगरपालिका–८ का प्रेमप्रकाश चौलागाई हाल वीरेन्द्रनगर–३ सुर्खेतमा गार्मेन्ट उद्योग सञ्चालन गरिरहनु भएको छ । उद्योगमा पुग्नेहरुको नजरमा उहाँ मालिक मात्रै होइन, आफै कामदार पनि हुनुहुन्छ । यहाँसम्म आउन चौलागाईका दुःख संघर्ष सुनिनसक्नुका छन् । उहाँले ११ वर्षको उमेरमै आमा गुमाउनु भयो । आमाको मृत्युको घाउ नपुरिँदै १५ वर्षको उमेरमा बुबाले पनि संसार छाडेर जानुभयो । प्रेम घरको काइँलो छोरा हुनुहुन्छ । आमाबुबाले नै संसार छाडेर गएपछि ६ दाजुभाइ–दिदीबहिनीका दिनहरू संघर्षमा बिते । आमाबुबाले संसार छाडे पनि दाजु–दिदीबाट उहाँलाई मायाको कमी भने भएन ।

उमेर सानै भए पनि प्रेममा व्यवसाय गर्ने हुटहुटी चलिसकेको थियो । बाल्यकालको उमेरमै तल्लो माथिल्लो घरका दाजुभाइ घुमन्ते व्यापार गरेको देख्दा प्रेमलाई पनि घुमन्ते व्यापार गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । २०६९ साउनबाट १७ वर्षको उमेरमै उहाँ घुमन्ते व्यापारमा निस्किनुभयो । घुमन्ते व्यवपार जुम्ला हुम्लालगायत साविकको भेरी कर्णाली अञ्चलको पुर्ख्यौली पेसा नै हो । घुमन्ते व्यापार गर्ने बुबाको निधनपछि पुरानो पेशालाई अंगाल्नुपर्छ भन्ने सोचले कैयौँ ठाउँ पुगे । कहिले हिमालको खोँचमा त कहिले पहाडका उकाली ओराली त कहिले तराईका फाँट पुगे ।
उहाँले २१ साउन २०६९ देखि बुटवलमा फेन्सी पसल सञ्चालन गर्नुभयो ।

सो पसलबाट पढाइ खर्च जुटाएर १२ कक्षा अध्ययन गर्न काठमाडौ छिर्नुभयो । १२ कक्षाको परीक्षा दिएर फेरि कैलालीको अत्तरिया पुगेर व्यावसायिक यात्रा सुरु गरेको चौलागाई बताउनु हुन्छ । २०७० मा घुम्ती व्यवसायका लागि पुनः बैतडीको देहीमाण्डौँ पुगेर केही समय उतै बस्नुभयो । त्यहाँ बस्दा थुप्रै किसिमका चुनौतीको सामना गर्नुपरेको अनुभव उहाँसँग छ । ‘घुम्ती व्यपारको सिलसिलामा देहीमाण्डौमा तीन महिना बिताएँ,’ चौलागाईले स्मरण गर्नुभयो, ‘त्यहाँ बस्दा थुप्रै चुनौती सामना गर्नुपर्यो । घुमन्ते व्यापार त्यति गर्न पाइन्थेन । ठूलो व्यापार गरेर स्थायी रूपमा बस्न आर्थिक लगानी थिएन । घुम्ती व्यापार गर्दा कैयौँ पटक सामान जफत भयो । कैयौँ पटक लखेटियौँ ।’

त्यसपछि उहाँ २०७० भदौमा पुनः अत्तरिया पुग्नुभयो । त्यहाँबाट होलसेलमा सामान बोकेर पुनः डोटीको सिलगढी गए र त्यहाँ दुई महिना बस्दा ३० हजार नाफा प्लस हुँदा महेन्द्रनगर आइपुग्नु भयो । त्यहाँको एक साहुलाई तीस हजार दिएर साढे तीन लाख बराबरको सामान हालेर २०७५ सम्म अछामको मंगलसेनबाट स्थायी रूपमा व्यवसाय सुरु गरेको चौलागाईले बताउनु भयो । पाँच महिना रुकुमको कमलताल, पश्चिम रुकुमको बाफिकोट दुई महिना र तीन महिना जाजरकोटको नलगाड नगरपालिकामा बिताउनु भयो ।

घुमन्ते व्यवसायले उहाँलाई कहिले सुदूरपश्चिमका अछाम, डोटी, कैलाली, कहिले कर्णालीका कालीकोट,जुम्ला, हुम्ला,जाजरकोट, रुकुम, सुर्खेत पुर्यायो । यहाँसम्मको दुःख र मेहनतले चौलागाईंले एउटा सानो उद्योग खोल्नेसम्म आर्थिक लगानी जुटाउनु भयो । अनि २०७५ सालमा सुर्खेतको वीरेन्द्रनगर–३ मा दाजुभाइ गार्मेन्ट उद्योग सञ्चालन गर्नुभयो ।

पिठ्युँमा भारी बोकेर व्यापार गर्दा लखेटिनु परेको निकै पीडादायी क्षण पनि प्रेमको जीवनमा आइपरेको छ । ‘घरपरिवारको पालनपोषण गर्न र आफ्नो पढाइ खर्च जुटाउने अरु कुनै विकल्प थिएन,’ उहाँले भन्नुभयो, ‘खुल्ला रूपमा व्यापार गर्दा र उनीहरूबाट लखेटिँदा कहिले जंगलमै बास हुन्थ्यो । कहिले चाउचाउ बिस्कुटको सहारामा पहाडका उकाली ओराली बाटोमा यात्रा गर्नुपर्थ्यो । दिनहरू संघर्षमै बिते ।’

घुम्ती व्यवसायदेखि गार्मेन्ट मालिकसम्म

२०६९ देखि घुम्ती व्यपार थाल्दै विभिन्न आरोहअवरोह गर्दै चौलागाईले अहिले आफ्नै गार्मेन्ट उद्योग सञ्चालन गरिरहनु भएको छ । २०६९ देखि २०७५ सम्म घुम्ती व्यापार गर्दै २०७५ देखि नै सुर्खेतको वीरेन्द्रनगरमा गार्मेन्ट उद्योग सञ्चालन गरेर ११ जनालाई रोजगारीसमेत दिएको उहाँ बताउनु हुन्छ ।

जातको आधारमा विभाजित गर्ने हाम्रो समाजमा नेपालीले मात्र कपडा सिउनुपर्छ भन्ने रुढीवादी परम्पराको अन्त्य हुँदै गएको छ । उहाँ गार्मेन्टको आफै मालिक र आफै कामदारसमेत हुनुहुन्छ । यही मेहनतले चौलागाईले मासिक २५ देखि ५० हजार र वार्षिक तीन लाख देखि ६ लाखसम्म आम्दानी गर्दै आउनु भएको छ ।