जनता टाइम्स

२३ असार २०७६, सोमबार ००:४०

आउन थाल्यो ओली सरकारको कामको परिणाम : अगस्टदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ


नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पम्पिङ हाउस सञ्चालनमा नआउन्जेलसम्म सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल भित्र्याउने तयारी अघि बढेको छ 

सिमरा, असार २३ । मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्टदखि तेल भित्र्याउने गरी तयारी अघि बढाइएको छ। पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ । नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको छ ।

‘अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको छ,’ गोइतले भन्नुभयो । भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्मका लागि भारतको पटना–सिवान–मोतीहारी हुँदै सिधा अमलेखगन्ज तेल भित्र्याउने काम अघि बढेको गोइतले जानकारी दिनुभयो । भारतले अत्याधुनिक पम्पिङ हाउस मोतीहारीमा निर्माण गरिरहेको छ । गोइतका अनुसार नेपाल भित्र्याइने तेलको रिसिभिङ डिपो अमलेखगन्ज र पम्पिङ डिपो भारतको मोतीहारीमा रहनेछ । मोतीहारीको पंपिङ हाउस सञ्चालनमा नआउन्जेलसम्मका लागि सिधैं पटना–सिवान–अमलेगन्जसम्म पाइप जडान गरी तेल भित्र्याउने तयारी गरिएको हो ।

‘पाइप लाइनबाट तेल भित्र्याउन अटोमेटिक कन्ट्रोल रुम निर्माण गरिन्छ, कम्युटरको माध्यमले स्वचालित उपकरणलाई थोरै जनशक्तिमा कन्ट्रोल गर्न सकिन्छ,’ आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले भन्नुभयो । यो उपकरण नयाँ हो । नेपालमा पहिलोपटक अभ्यास गरिँदै छ । भारतमा यसको प्रयोग भइरहेकाले आफूहरू पनि यसको सफल परीक्षणमा विश्वस्त रहेको यादवको भनाइ छ ।

अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न तयारी अवस्थामा राखिएको ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरका दुई गरी चारवटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गर्ने काम यतिबेला चलिरहेको छ । मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजना कार्यालयका इन्जिनियर शरद पौडेलका अनुसार पाइप लाइनबाट भित्रिने तेलको प्रेसर अत्यधिक हुने भएकाले त्यसलाई कम गर्न स्वचालित घुमाउरा भल्भसमेत राखी सकिएको छ । यसलाई कम्प्युटरले आफैं चलाउनेछ । ‘पाइप लाइनबाट प्रतिघण्टा १९० देखि २ सय किलोलिटर तेल भित्रिन्छ, यसका लागि १६ हजार किलोलिटर क्षमता थेग्ने ट्यांक तयारी गरिसकिएको छ,’ पौडेलले भन्नुभयो ।

संसदीय समितिको अनुगमन

यसैबीच पेट्रोलियम पाइप लाइनको पहिलो चरणको कामको संसदीय समितिले स्थलगत अनुगमन गरेको छ । उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका संयोजक विमल श्रीवास्तव नेतृत्वको १२ सदस्यीय टोलीले पाइप लाइनको अनुगमन निरीक्षण गरेको हो । कमी, कमजोरी, सुधार गर्नुपर्ने विषय, टेन्डर प्रक्रिया र अनुगमनको क्रममा देखिएका अन्य विषयमा छलफल गरी निष्कर्ष निकालिने र त्यसैका आधारमा सरकार र आयल निगमलाई निर्देशन दिइने समिति संयोजक श्रीवास्तवले बताउनु भयो ।

‘अहिले नै अनुगमनमा देखिएका विषयमा बोल्न मिल्दैन, टोलीका सम्पूर्ण सदस्यको सुझावपछि मात्र निष्कर्षमा पुगेर बोल्नु राम्रो हुनेछ,’ श्रीवास्तवले भन्नुभयो । संसदीय टोलीले अनुगमन निरीक्षणसहितको प्रतिवेदनसमेत तयार गर्ने उहाँको भनाई थियो । पाइप लाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जभित्रका रुख काटने प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा पाइप गाड्ने काम निर्धारित समयभन्दा पर धकेलिएको थियो ।

मोतीहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ किलोमिटर छ । ३२ दशमलव २० किलोमिटर पाइप लाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर नेपालमा पर्छ । सरकारले यस आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।