जनता टाइम्स

२३ असार २०७६, सोमबार ०८:३६

दरबार हत्याकाण्डबारे बोले पूर्वराजा ज्ञानेन्द्र : मेरी श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नि


काठमाडौं, असार २३

वि.सं. २०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय दुःखद अत्यन्त मर्माहत घटना घट्यो। जो सबैका निम्ति त्राशदीपूर्ण थियो, आश्चर्यकारी थियो। अचानक ममाथि ठूलो बज्रपात भयो। सोच्दै नसोचेको आफ्नै वंश नाशको पीडा मैले भोग्नु पर्‍यो। राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नु पर्‍यो।

जेठ १९ गतेको त्यो अकल्पनीय त्रासदीपूर्ण पीडादायी घटना मेरा आँखामा प्रत्यक्ष रहेन। म राजधानी बाहिर थिएँ, घटना उप्रान्तको विभत्स दृष्य मात्र मैले देख्नु पर्‍यो, सहनु पर्‍यो। दरबार भित्रको त्यो कार्यक्रममा मेरी श्रीमती कोमल पनि सम्मिलित थिइन्। त्यो घटनामा मेरी श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नि, उनीलाई पनि गोली लागेको थियो। ठूलै शल्यकृयापछि पनि अझै पनि उनको शरीरमा गोलीका टुक्राहरु बाँकी रहेको कुरा चिकित्सकहरु व्यक्त गर्दछन्। मलाई कताकता पीडाबोध भइरहन्छ।

त्यतिखेर परिस्थिति, विधि र परम्पराको बाध्यता भित्र रहेर मलाई नेपाल राष्ट्रको राजा बन्नुपर्ने अवस्था आयो। मैले सार्वजनिक, औपचारिक, अनौपचारिक तथा आम साञ्चारिक क्षेत्रको त्यो पीडा एवं बाध्यता पटक–पटक अभिव्यक्त पनि गरिसकेको छु। मैले धेरै ठाउँमा भनेँ,–प्रकृतिमा रमाएको र आफ्नै भावनामा बगेको एक राष्ट्रभक्त चरित्र मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन।

तर नेपालको परम्परा, संवैधानिक व्यवस्था तथा तत्कालीन घटनाचक्रको अवस्था भित्र रहेर मैले नेपालको राजगद्दी सम्हाल्नु पर्यो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय व्यवस्था अवस्थामा आफूलाई लगाउनु पर्‍यो, लगाएँ, लागेँ र प्रजातान्त्रिक आदर्शलाई अगाडि बढाउँदै आफूलाई संवैधानिक दायरा अनुरुप नै आफ्नो धर्म निर्वाह गरेँ।

नेपालको राजदरबार भित्र भएको अकल्पनीय घटना पश्चात् आएको राजनीतिक घटनाक्रमको श्रृङ्खलामा फेरि पनि अनेकथरी गतिविधिहरु भए। तत्कालिन संवैधानिक व्यवस्था भित्र अनेक व्यवधानहरु खडा गर्ने बखेडा विद्रोह आदि भए। संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीलाई चल्न नदिन अनेक अवरोधक परिस्थितिहरु पैदा भए। चल्दै आएको सुचारु परिपाटीले काम नचलेपछि अरु कुनै वैकल्पिक सोचले केही हुन्छ कि भनेर सोचियो। वार्ता सम्वाद, सहमति र सुचारु गतिविधिका अनेक उपायहरु पनि गरियो।

वि।सं। २०६२\६३ र ६४\६५ सम्म आइपुग्दा देशको परिस्थितिले के–के कोल्टो फेर्‍यो। त्यतिखेर कतिलाई अतितको बोध हरायो, कतिलाई भविष्यको अनेक सपना तानाबानाले तान्यो। के–के भयो के–के। राजनीतिमा देशी विदेशी र राज्य व्यवस्थाका दिग्गज पण्डितहरु नै दिग्भ्रमित भएपछि मैले राजपाठ परित्यागको एउटा सामयिक अठोट गरेँ। उदारतापूर्वक परिवर्तनकारी शक्तिहरुबाटै यो मातृभूमिको उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रुपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ।

(पूर्वराजा ज्ञानेन्द्र शाह सोमबारदेखि ७३ वर्षमा प्रवेश गरेका छन् । जन्मोत्सवको अवसरमा प्रकाशित पूर्वराजाले २०५८ देखि २०७६ सम्म व्यक्त विचार तथा सन्देशहरुको संग्रह सन्देश संग्रह’ मा प्रकाशित उनको लेख ।)